सन् १९५६ को चलचित्र 'एण्ड गड क्रिएटेड वुमन'बाट 'सेक्स सिम्बोल'को परिभाषा बदल्ने फ्रान्सेली अभिनेत्री ब्रिजिट बार्डोको निधन भएको छ। लरक्क परेको ओठ र जेलिएको कपालका लागि चिनिने बार्डोले ३९ वर्षकै उमेरमा अभिनय त्याग गरेर आफ्नो बाँकी जीवन पशु कल्याणमा समर्पित गरेकी थिइन्। उनी ९१ वर्षकी थिइन्।
पेरिसस्थित उनको संस्था 'फाउन्डेसन ब्रिजिट बार्डो' का प्रवक्ताले आइतबार उनको मृत्युको पुष्टि गरेका हुन्।
'विवाहित पुरुषहरूको अप्राप्य कल्पना'
आफ्नो शारीरिक बनावट र स्वतन्त्र जीवनशैलीका कारण उनी 'सेक्स सिम्बोल' को रूपमा सर्वत्र चिनिइन्। द न्युयोर्क टाइम्सका लागि लेख्दै बोस्ले क्राउथरले 'एण्ड गड क्रिएटेड वुमन'मा ब्राडको अभिनयलाई 'निर्विवाद रूपमा उत्कृष्ट शिल्पको सिर्जना' र 'विश्वास गर्नका लागि हेर्नैपर्ने एक परिघटना' भनेका छन्। त्यो फिल्ममा उनले गरेको नृत्य निकै चर्चित भयो।
त्यो समयका अन्य 'सेक्स सिम्बोल'को तुलनामा बार्डोको फिल्मी व्यक्तित्व भिन्न थियो। उनी केवल आफ्नो भरिपूर्ण यौवनका लागि मात्र होइन, बरु आफ्नो याैनइच्छा र शारीरिक चाहनालाई बिना कुनै संकोच व्यक्त गर्ने स्वभावका कारण पनि चिनिन्थिन्।
उनका निर्देशक उनकै श्रीमान् रोजर वाडिम थिए। उनीहरूको चाँडै सम्बन्ध विच्छेद भए पनि वाडिमले बार्डोको सार्वजनिक छविलाई निरन्तरता दिँदै अरू दुई दशकमा थप चारवटा चलचित्रमा उनलाई निर्देशन गरे।
वाडिमले कुनै समय भनेका थिए, 'बार्डो सबै विवाहित पुरुषहरूको अप्राप्य कल्पना हुन्।'
'दिनहुँ सुन्दरी' हुँदाहुँदा वाक्क
केही वर्षपछि सन् १९६३ मा उनले जीन–लुक गोडार्डको फिल्म 'कन्टेम्प्ट' मा एक पटकथा लेखककी दुखी श्रीमतीको भूमिका निर्वाह गरिन्। त्यसका दृश्यहरू सिनेमाको इतिहासमा अहिले पनि स्मरण गरिन्छ, चर्चा गरिन्छ।
'जवानी पुरुषहरूलाई, विवेक र अनुभव जनावरलाई'
एक समय बार्डोको लोकप्रियता यति धेरै भयो कि सन् १९६९ मा उनी फ्रान्सको राष्ट्रिय प्रतीक 'मारियान'को लागि मोडेल बनिन्। उनको आकृति मूर्ति, हुलाक टिकट र सिक्काहरूमा अंकित गरियो।

फ्रान्सको उच्च सम्मान 'लिजन अफ अनर'बाट सम्मानित भएको एक वर्षपछि उनले 'फाउन्डेसन ब्रिजिट बार्डो' स्थापना गरेकी हुन्। त्यति बेला उनले भनेकी थिइन्, 'मैले मेरो सुन्दरता र जवानी पुरुषहरूलाई सुम्पिएँ, अब म मेरो विवेक र अनुभव, अर्थात् मेरो सर्वश्रेष्ठ अंश जनावरहरूलाई दिँदैछु।'
Shares

प्रतिक्रिया