नयाँ दिल्लीमा बिहीबार भएको ब्रिक्स बैठकमा इरान र संयुक्त अरब इमिरेट्स (यूएई) का मन्त्रीहरूबिच भनाभन भएको छ।
बीबीसी हिन्दीले लेखेअनुसार इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले यूएईलाई आफ्नो देशविरुद्धको सैन्य कारबाहीमा प्रत्यक्ष संलग्न भएको आरोप लगाए।
एकदिनअघि मात्र इजरायलले दाबी गरेको थियो- इरानसँग युद्धका बिच आफ्ना प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले यूएईको गोप्य भ्रमण गरेका थिए। तर यूएईले यो कुरा अस्वीकार गरेको थियो।
यो सब भइरहेका बेला इरानका विदेशमन्त्री अराघची भारतको राजधानी नयाँ दिल्लीमा थिए। यस क्रममा उनले इजरायलसँग ‘मिलेमतो’ गरेको हिसाब’ लिइने चेतावनी दिए।
इरान र यूएई दुवै ब्रिक्स समूहका सदस्य देश हुन्। यसैकारण दुवै देशका प्रतिनिधि बिहीबार नयाँ दिल्लीमा आयोजित ब्रिक्स बैठकमा सहभागी थिए।
यस क्रममा इरान र यूएईका मन्त्रीहरूबिच तनाव भएको हो।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार यूएईका प्रतिनिधिको टिप्पणीमा अराघचीले भने, ‘ब्रिक्सभित्र एकता कायम राख्न मैले मेरो वक्तव्यमा यूएईको नाम लिएको थिइनँ। तर सत्य के हो भने यूएई इरानविरुद्धको आक्रमणमा प्रत्यक्ष रूपमा संलग्न थियो। (इरानमा) आक्रमण सुरु गरिँदा यूएईले निन्दासम्म गरेन।’
यस विषयमा भारतस्थित इरानी दूतावासको आधिकारिक एक्स अकाउन्टमार्फत जानकारी दिएको छ।
इरानी दूतावासले भनेको छ, ‘ब्रिक्स देशका विदेश मन्त्रीहरूको बैठकको दोस्रो सत्रमा इरानका कानुन तथा अन्तर्राष्ट्रिय मामिला उपविदेशमन्त्री डा. काजिम गरिबाबादीले यूएईका विदेश राज्यमन्त्रीले लगाएका आरोपको कडा प्रतिवाद गरे। उनले इरानले यूएईले आक्रमण गरेको आरोप लगाए।’

‘इरानविरुद्धको आक्रमणमा यूएई प्रत्यक्ष संलग्न’
इरानका उपविदेशमन्त्री काजिम गरिबाबादीले इरानविरुद्धको सैन्य आक्रमणलाई समर्थन र सहयोग गर्न यूएईले प्रमुख भूमिका खेलेको आरोप लगाए।
उनले भने, ‘त्यसकारण तनाव सिर्जना गर्ने र बढाउने काममा संलग्न कसैलाई इरानविरुद्ध राजनीतिक आरोप वा दाबी गर्ने कुनै नैतिक वा कानुनी अधिकार छैन। हामी एक शक्तिशाली र महान् देश हौँ। आक्रमणकारीहरूले हाम्रा जनता र पूर्वाधारलाई निसाना बनाएको हामी चुपचाप हेर्न सक्दैनौँ, विशेष गरी जब हाम्रा छिमेकी देशमध्ये एक यूएई संलग्न हुन्छ।’
उनले अगाडि भन्दै गए, ‘हामीसँग यूएईमा रहेका अमेरिकी अड्डा तथा सबै पूर्वाधारलाई निसाना बनाउनुको विकल्प थिएन, जसमा अमेरिकाको भूमिका वा सहभागिता थियो।’
उनका अनुसार इरानले आक्रमण सुरु हुनुभन्दा धेरै दिनअघि यूएईलाई आधिकारिक सन्देश पठाउँदै हमलामा सहयोग गरे वा आफ्नो क्षेत्र प्रदान गरेमा आत्मरक्षाका लागि उल्लिखित अड्डा/स्थलहरूलाई निसाना बनाउनुको विकल्प हुँदैन भनेर चेतावनी दिएको थियो।
अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त आक्रमण गरी युद्धको सुरुवात गरेका थिए। त्यसपछि जवाफमा इरानले इजरायलका साथै खाडीका देशहरूमा रहेका अमेरिकी सैन्य अड्डामा मिसाइल र ड्रोन प्रहार गरेको थियो।
हाल भने केही हप्तादेखि युद्धविराम छ।
Shares

प्रतिक्रिया