अनुसन्धानकर्ताहरूले पहिलोपटक टाढाको तारा परिक्रमा गरिरहेको पृथ्वीजस्तो चट्टानी ग्रहवरिपरि वायुमण्डल रहेको पत्ता लगाएका छन्।
अनुसन्धानकर्ताहरूले यो खोज सौर्यमण्डलबाहिर पृथ्वीजस्तो ग्रह हुन सक्छन् भन्ने अहिलेसम्मको सबैभन्दा बलियो प्रमाण भएको दाबी गरेका छन्।
ग्रहको वायुमण्डलमा हेलियम ग्यास रहेको पत्ता लागेको छ। हेलियम जीवनका लागि उपयुक्त ग्यास मानिँदैन, तर वैज्ञानिकहरूले अन्य ग्यास पनि हुने सक्ने विश्वास गरेका छन्।
यस अध्ययनका प्रमुख लेखक हार्वर्ड विश्वविद्यालयका डा. कोलिन चेरुबिमले यो खोजलाई "ठुलो उपलब्धि’ भनेका छन्।
उनले भनेका छन्, ‘अर्को ताराको बसोबासयोग्य क्षेत्रमा रहेको चट्टानी ग्रहमा वायुमण्डल पत्ता लागेको यो पहिलोपटक हो।’
एलएचएस ११४०बी नामको यो ग्रह पृथ्वीबाट ४८ प्रकाश-वर्ष टाढा छ। जसले सूर्यभन्दा धेरै सानो र चिसो रातो ताराको परिक्रमा गर्छ।
अहिलेसम्म वैज्ञानिकहरूले टाढाका ताराहरूको परिक्रमा गर्ने ६ हजारभन्दा बढी ग्रह पत्ता लगाएका छन्।
तर यो नयाँ खोज किन विशेष छ भने विज्ञानको सबैभन्दा ठुलो लक्ष्यमध्ये कुनै अर्को ग्रहमा जीवनको खोजमा अर्को महत्त्वपूर्ण कदम हो।
साइन्स जर्नलमा प्रकाशित यस अनुसन्धानका लेखकले स्पष्ट रूपमा भनेका छन्, ‘अहिलेसम्म कुनै पनि अन्य ग्रहमा जीवन पत्ता लागेको छैन।’
‘तर कुनै ग्रहमा जीवन सम्भव हुनका लागि पानीको उपस्थिति आवश्यक छ। पानी तब मात्र अस्तित्वमा रहन सक्छ, जब ग्रह आफ्नो ताराबाट सही दुरीमा हुन्छ।’
‘यदि ताराको धेरै नजिक छ भने यो धेरै तातो हुनेछ। धेरै टाढा छ भने धेरै चिसो हुनेछ। त्यसैले ग्रह त्यस्तो दुरीमा हुनुपर्छ जहाँ तापक्रम न त धेरै तातो होस् न त धेरै चिसो, अर्थात् जीवनका लागि अनुकूल होस्।’
ग्रह वैज्ञानिकहरूले यसलाई ‘गोल्डिलक्स जोन’ भन्छन्। यो नाम लोककथाकी युवती गोल्डिलक्सको नामबाट राखिएको हो, जो आफ्नो खाजाको तापक्रम ठिक्क चाहन्थिन्- न धेरै तातो न त धेरै चिसो।
अहिलेसम्म वैज्ञानिकहरूले ताराहरूका गोल्डिलक्स जोनमा सयौँ ग्रह पत्ता लगाएका छन्। तर यीमध्ये केही दर्जन मात्र पृथ्वीजस्तै साना र चट्टानी छन्।
यसलाई पनि यस्ता ग्रहमा जीवन हुन सक्ने एउटा महत्त्वपूर्ण संकेत मानिन्छ।
तर अहिलेसम्म यीमध्ये कुनै पनि ग्रहमा वायुमण्डल फेला परेको थिएन।
वायुमण्डल फेला परेको यो पहिलोपटक हो।
यद्यपि यस ग्रहको वायुमण्डलमा हेलियम ग्यास मात्र पत्ता लागेको छ। जुन ग्यास मात्र जीवनका लागि अनुकूल हुँदैन।
तर वैज्ञानिकहरू यो माथिल्लो वायुमण्डलमा रहेको र जीवनका लागि बढी अनुकूल अन्य ग्यास वायुमण्डलको तल्लो तहमा हुन सक्ने विश्वास गर्छन्।
हार्वर्ड विश्वविद्यालयका डा. डेभिड चारबोनाउले भनेका छन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने पहिलोपटक सौर्यमण्डलबाहिर पृथ्वीजस्तो ग्रहमा वायुमण्डल फेला परेको छ।’
उनी थप्छन्, ‘पृथ्वी वा सौर्यमण्डल बाहिर पनि जीवन छ? यो अध्ययन यस दिशामा एउटा प्रमुख सफलता हो, किनकि यो सौर्यमण्डलबाहिर ताराको बसोबासयोग्य क्षेत्रमा रहेको चट्टानी ग्रहमा वायुमण्डल पत्ता लागेको पहिलोपटक हो।’
यद्यपि वैज्ञानिकहरू जीवनको खोजीमा एलएचएस११४०बी मा मात्र केन्द्रित छैनन्।
के२-१८बी नामक सब-नेप्च्युन ग्रह पनि वैज्ञानिकहरूका लागि विशेष चासोको विषय हो।
के विश्वास गरिन्छ भने यसभित्र पानी हुन सक्छ। वैज्ञानिकहरूले यस ग्रहमा डाइमिथाइल सल्फाइड भनिने ग्यासको संकेत देखेपछि यो प्रमुख समाचार बनेको थियो।
पृथ्वीमा यो ग्यास समुद्री जीवसँग सम्बन्धित मानिन्छ।
तर २०२५ मा नासाले गरेको पुन: विश्लेषणले यो कुरा पुष्टि गर्न पर्याप्त प्रमाण नभएको पत्ता लगाएको थियो। साथै यसले यो ग्यास जीवनबिना प्राकृतिक प्रक्रियाद्वारा पनि बन्न सक्ने खुलासा गरेको थियो।
यसैगरी ट्रापिस्ट-१ तारा परिक्रमा गर्ने सात चट्टानी ग्रह वैज्ञानिकका लागि अझै पनि रहस्यकै विषय बनेको छ।
नासाको जेम्स वेब स्पेस टेलिस्कोपले ट्रापिस्ट-१ मा पृथ्वीजस्तो वायुमण्डलको सम्भावनालाई अस्वीकार गरेको छ।
यस्तै ट्रापिस्ट-१ मा फेला परेको कुरा अझै पनि कुनै ठोस निष्कर्ष निकाल्न पर्याप्त छैन।
Shares

प्रतिक्रिया