ग्लोबल


‘होर्मुज जलमार्ग नखोलिँदै ट्रम्प इरानविरुद्धको युद्ध अन्त्य गर्न तयार’

‘होर्मुज जलमार्ग नखोलिँदै ट्रम्प इरानविरुद्धको युद्ध अन्त्य गर्न तयार’

नेपालखबर
चैत १७, २०८२ मंगलबार ९:९, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्धको युद्ध अन्त्य गर्न तयार रहेको वाल स्ट्रिट जर्नलले दाबी गरेको छ। 

अंग्रेजी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले आफ्ना सहयोगीहरूसँग जलमार्ग होर्मुज स्ट्रेट धेरै हदसम्म बन्द रहे पनि आफू इरानविरुद्धको सैन्य अभियान समाप्त गर्न तयार रहेको बताएका हुन्। 

प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ, ‘राष्ट्रपति ट्रम्प र उनका सहयोगीले यो महत्त्वपूर्ण समुद्री मार्ग जबरजस्ती खोल्ने मिसनले लडाइँ तोकिएको समयसीमाभन्दा चारदेखि छ हप्तासम्म बढी लम्बिने आकलन गरेका छन्।’

रिपोर्टअनुसार इरानका नौसेना र क्षेप्यास्त्र भण्डारमा ठुलो क्षति गरेपछि अमेरिका अब व्यापार प्रवाह पुनर्स्थापित गर्न इरानलाई कूटनीतिक दबाब दिन चाहन्छ। 

अधिकारीहरूले भनेका छन्, ‘यदि यो योजना असफल भयो भने वासिङ्टनले युरोप र खाडीमा रहेका सहयोगीहरूलाई होर्मुज स्ट्रेट पुन: खोल्न दबाब दिनेछ।’ 

अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरेयता मध्यपूर्वभरि नै युद्ध जारी छ। 

पहिलो दिनकै आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित धेरै जना शीर्ष नेता तथा अधिकारी मारिएका थिए भने त्यसयता सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्। 

अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको बताइएको छ।

त्यसो त इरानको आक्रमणबाट पनि इजरायल तथा अमेरिकी आधार रहेका खाडीका देशहरूमा मानवीय तथा भौतिक क्षति भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad