नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ।
पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक बोलाएको एमाले सचिव पद्मा अर्यालले नेपालखबरलाई जानकारी दिइन्।
बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीति र अन्य विषयमा छलफल हुने छ। एमालेले चैत १३ गतेदेखि नै ओली र लेखकमाथि राजनीतिक पूर्वाग्रह र प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध प्रदर्शन गर्दै आएको छ।
भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न बनेको गौरिबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस अनुसार अनुसन्धान र अभियोजन गर्न भनेर प्रहरीले शनिबार बिहान ओली र लेखकलाई पक्राउ गरेको थियो।
ओली र लेखकलाई जिल्ला अदालत काठमाडौंमा ५ दिन म्याद थपेको छ भने सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणका दुईवटै रिटमा ‘जरूरी पक्राउ पुर्जी’ जारी गर्नुपरेको पूर्वअवस्थाबारे जबाफ मागेको छ।
ओली र लेखकलाई पक्राउ गर्दा दुवैलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ (६) अनुसार जरूरी पक्राउ पुर्जी दिइएको थियो।
यसअघि गएको शनिबार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको थियो।
एमाले सचिवालय बैठकको निर्णयअनुसार एमालेले गएको शनिबार र आइतबार देशैभरि प्रदर्शन गरेको थियो। काठमाडौँ उपत्यकामा भने एमालेले गएका तीनैदिन प्रदर्शन गरेको थियो।
आजको बैठकले पार्टीको आगामी रणनीति तय गर्ने सम्भावना छ।
Shares

प्रतिक्रिया