अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैँले ‘भाग्न’ धम्की दिएका कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोसँग अन्तत: भेटवार्ता गर्ने बताएका छन्।
गत शनिबार भेनेजुएलामा सैन्य हमला गरी राष्ट्रपति निकोलस मदुरोलाई अपहरण शैलीमा अमेरिका पुर्याएको केही घण्टापछि ट्रम्पले पेट्रोलाई पनि ‘ज्यान जोगाउने भए भाग्न’ चेतावनी दिएका थिए भने जवाफमा पेट्रोले हिम्मत भए आफूलाई गिरफ्तार गरेर देखाउन चुनौती दिएका थिए।
तर बुधबार ट्रम्पले पेट्रोसँग फोनमा कुरा गर्दै उनीसँग चाँडै ह्वाइट हाउसमा भेट हुने बताएका हुन्।
ट्रम्प आफैँले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत बुधबार आफूहरूबीच फोनमा कुराकानी भएको जानकारी दिएका हुन्।
ट्रम्पले लेखेका छन्, ‘कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोसँग कुरा गर्न पाउनु मेरा लागि ठुलो सम्मानको कुरा हो। उनले लागुऔषध र हामीबीचका मतभेदबारे कुरा गर्न फोन गरेका थिए। म उनको फोन र बोलीको कदर गर्छु र उनीसँग चाँडै भेट्न प्रतीक्षामा छु। विदेश सचिव मार्को रुबियो र कोलम्बियाका विदेशमन्त्रीले यसको व्यवस्था मिलाइरहेका छन्। हाम्रो भेटघाट वासिङ्टन डीसीस्थित ह्वाइट हाउस (राष्ट्रपति निवास) मा हुनेछ।’
अमेरिकामा लागुऔषध तथा हतियार तस्करी गरेको आरोपमा मदुरो दम्पतीविरुद्ध न्युयोर्कस्थित अदालतमा मुद्दा चलाइएको छ। त्यहाँस्थित हिरासतमा राखिएका उनीहरूलाई गत सोमबार अदालतमा पेस गरिएको थियो।
त्यस दिन भएको पहिलो सुनुवाइमा मदुरोले आफूले कुनै अपराध नगरेको र आफूलाई अपहरण गरिएको बयान दिएका छन्।
त्यसरी एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकका राष्ट्रपतिविरुद्ध अमेरिकाले गरेको हमलाले विश्व राजनीतिमै तरंग ल्याएको छ। यसविरुद्ध विश्वका विभिन्न मुलुकले टिप्पणी गरिरहेका छन्।
Shares

प्रतिक्रिया