अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई निवासबाटै चिलले चल्लो टिपेझैँ लगेर हिरासतमा राखेपछि विश्व राजनीतिमा तरंग छाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमले विश्व सञ्चालन गर्ने सबैभन्दा राम्रो तरिका भनेको सहमति भएका अन्तर्राष्ट्रिय नियम पालना गर्नु हो भन्ने मान्यतामा गम्भीर धक्का पुगेको छ।
त्यसो त ट्रम्प दोस्रोपटक अमेरिकाको सत्तामा आउनुभन्दा पहिले नै यो विचार कमजोर भइसकेको थियो।
यद्यपि उनले अमेरिकाभित्र र बाहिर अन्तर्राष्ट्रिय रूपमा पनि बारम्बार भनेको कुरा के हो भने उनी आफूलाई मन नपर्ने कानुन नजरअन्दाज गर्न सक्छन्।
बेलायतका प्रधानमन्त्री किअर स्टार्मरलगायत युरोपेली सहयोगी, जो ट्रम्पलाई रिस उठाउन चाहँदैनन्- अन्तर्राष्ट्रिय कानुनलाई कसरी समर्थन गर्ने भन्ने दुविधामा परेका छन् र मदुरो प्रकरण संयुक्त राष्ट्र संघको बडापत्रको स्पष्ट उल्लंघन हो भनेर भन्न सक्दैनन्।
अमेरिकी सेनाले ‘लागुऔषध तस्कर’ पक्राउका लागि वारेन्ट लागु गर्न मात्र मद्दत गरिरहेको हो भन्ने तर्क अत्यन्तै कमजोर छ।
किनकि ट्रम्प आफैँले भनेका छन्, ‘अमेरिकाले अब भेनेजुएला र यसको तेल उद्योग नियन्त्रण गर्नेछ।’
मदुरो र उनकी श्रीमती गिरफ्तार गरिनुभन्दा केही घण्टाअघि उनीहरूले कराकासमा रहेको आफ्नो दरबारमा चिनियाँ कूटनीतिज्ञहरूसँग भेट गरेका थिए।
चीनले अमेरिकी कदमको निन्दा गरेको छ।
विज्ञप्तिमा चीनले भनेको छ, ‘अमेरिकाको आक्रामणकारी हर्कत अन्तर्राष्ट्रिय कानुन र भेनेजुएलाको सार्वभौमिकताको गम्भीर उल्लंघन हो र यसले ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रको शान्ति र सुरक्षालाई खतरामा पार्छ।’
चीनले जोड दिँदै थप भनेको छ, ‘अमेरिकाले अन्य देशको सार्वभौमिकता र सुरक्षा उल्लंघन गर्न बन्द गर्नुपर्छ।’
तैपनि चीनले अमेकाको कदमलाई उदाहरणका रूपमा लिन सक्छ। किनिक चीनले पनि ताइवानलाई आफ्नो अलग प्रान्त मान्छ र यसलाई बेइजिङको नियन्त्रणमा फिर्ता ल्याउने घोषणा गरेको छ।
यो चिन्ता वासिङ्टनमा स्पष्ट देखिन्छ। सिनेट इन्टेलिजेन्स कमिटीका डेमोक्र्याटिक उपाध्यक्ष सिनेटर मार्क वार्नरले विज्ञप्ति जारी गर्दै चिनियाँ नेता र अन्य देशले नजिकबाट हेरिरहेको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘यदि अमेरिका अपराधी ठानिएका विदेशी नेता पक्राउ गर्न सैन्य बल प्रयोग गर्ने अधिकार रहेको दाबी गर्छ भने ताइवानको नेतृत्वबारे त्यस्तै दाबी गर्न चीनलाई केले रोक्छ?’
‘भ्लादिमिर पुटिनले युक्रेनका राष्ट्रपतिलाई अपहरण गर्न उही तर्क प्रयोग गर्दैनन्? यसले विश्वव्यापी अराजकता मात्र बढाउनेछ र यसको फाइदा सबैभन्दा पहिले अधिनायकवादी शासकले लिनेछन्।’
तर ट्रम्प के ठान्छन् भने 'म आफैँ नियम बनाउँछु र मेरो नेतृत्वमा अमेरिकाले जुन उपलब्धि हासिल गर्छ, त्यस्तो विशेषाधिकार पाउने अपेक्षा अरूले नगर्दा हुन्छ।'
तर शक्तिको संसार त्यसरी चल्दैन।
सन् २०२६ को सुरुमै ट्रम्पले चालेको कदमले आगामी १२ महिना विश्वव्यापी उथलपुथल ल्याउने संकेत गर्छ। बीबीसीबाट
Shares

प्रतिक्रिया