ग्लोबल


खुट्टामा समेत साङ्ला बाँधिएका मदुरोले अदालतमा भने : मलाई अपहरण गरियो

आरोपपत्रमा मदुरोका छोरा र गृहमन्त्रीको पनि नाम
खुट्टामा समेत साङ्ला बाँधिएका मदुरोले अदालतमा भने : मलाई अपहरण गरियो

यो तस्बिरचाहिँ मदुरो र उनकी पत्नीलाई अदालत लगिँदै गर्दाको हो।


नेपालखबर
पुस २२, २०८२ मंगलबार १५:१३, काठमाडौँ

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको दम्पतीलाई लागुऔषध र हतियार तस्करीलगायत अभियोगमा अमेरिकाले सोमबार राति न्युयोर्कस्थित संघीय अदालतमा उपस्थित गराएको छ। 

सीएनएनका अनुसार, अदालतमा मदुरोले आफ्नो गिरफ्तारीलाई गैरकानुनी भन्दै आफूलाई ‘अपहरण गरिएको’ बताए। 

पहिलो सुनुवाइका क्रममा उनले भने, ‘म अपराधी होइन। म एक सम्मानित व्यक्ति हुँ र म अझै पनि मेरो देशको राष्ट्रपति हुँ।’

यस्तै मदुरोका वकिलहरूले अमेरिकाको कदमलाई सैन्य अपहरण भनी टिप्पणी गरेका छन्। 

उनीहरूले भने, ‘यसले अन्तर्राष्ट्रिय कानुन र कानुनी प्रक्रियाको उल्लंघन गरेको छ।’

अब मदुरोविरुद्ध अर्को सुनुवाइ आगामी मार्च १७ मा हुनेछ।

सोमबार मदुरोसँगै उनकी श्रीमती सेलिया फ्लोरेस पनि अदालतमा उपस्थित भएकी थिइन्।

उनले पनि अदालतमा आफू भेनेजुएलाको प्रथम महिला भएको भन्दै अमेरिकाले लगाएका सबै आरोप अस्वीकार गरिन्। 

उनको अनुहारमा चोट लागेको थियो र पट्टी बाँधिएको थियो।

मदुरो दम्पतीविरुद्ध आतंकवादी समूहसँग मिलेर अमेरिकामा कोकिन तस्करी गर्न षड्यन्त्र गरेको आरोप लगाइएको छ। साथै मेसिन गन राखेको अभियोग पनि छ। 

आरोपपत्रमा मदुरोका छोरा निकोलस मदुरो गुएरा, गृहमन्त्री डिओस्डाडो काबेलो र कुख्यात गिरोह ‘ट्रेन डे अरागुआ’का नेता हेक्टर गुरेरो फ्लोरेसको नाम पनि छ। अमेरिकाले उक्त गिरोहलाई विदेशी आतंकवादी संगठन मान्छ।

मदुरोको खुट्टामा समेत साङ्ला  

सुनुवाइका क्रममा मदुरोको खुट्टामा साङ्ला बाँधिएको थियो। 

न्यायाधीशले अदालतमा मदुरो दम्पतीविरुद्ध लगाइएका आरोपत्र पढेर सुनाएका थिए।

मदुरोलाई हिरासत कक्षबाट हेलिकप्टरमा अदालत लगिएको थियो। हेलिकप्टर अदालतनजिकैको हेलिप्याडमा अवतरण गराई तुरुन्तै भ्यानमा राखेर उनीहरूलाई सिधै अदालत पुर्‍याइएको थियो। 

सुनुवाइका क्रममा अदालतबाहिर विरोध प्रदर्शन

मदुरोको सुनुवाइ चलिरहेका बेला अदालतबाहिर सयौँ मानिस भेला भएका थिए।

त्यसमा एक पक्षले अमेरिकी कदमको विरोधमा प्रदर्शन गरिरहेको थियो भने अर्का पक्षले मदुरोविरुद्ध नाराबाजी गरिरहेको थियो।

सुनुवाइ सकिएपछि मदुरो बाहिर निस्कन उठ्दा ग्यालरीमा बसेका एक व्यक्तिले उनलाई भने, ‘तिमीले आफ्नो अपराधको मूल्य चुकाउनुपर्नेछ।’

जवाफमा मदुरोले भने, ‘मैले मुक्ति पाउनेछु।’

यही जनवरी ३ का दिन अमेरिकी सेनाले भेनेजुएलामा हमला गरी राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई अमेरिका पुर्‍याएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad