ad ad

ग्लोबल


शपथअघि सम्भावित मन्त्रीहरूसँग मोदीको बैठक, को को छन् सूचीमा?

शपथअघि सम्भावित मन्त्रीहरूसँग मोदीको बैठक, को को छन् सूचीमा?

नेपालखबर
जेठ २७, २०८१ आइतबार १४:२२, काठमाडौँ

शपथ खानुअघि भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले ७ लोककल्याण मार्गस्थित आफ्नो निवासमा सम्भावित मन्त्रीहरूसँग भेटवार्ता गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले उनीहरूलाई फोन गरेर चिया छलफल गर्न बोलाएका थिए। चार पूर्वमुख्यमन्त्रीहरू राजनाथ सिंह, शिवराज सिंह चौहान, मनोहर लाल खट्टर र कुमारस्वामी बैठकमा उपस्थित थिए। मोदीसँगै उनीहरूले आज मन्त्री पदको शपथ लिन सक्नेछन्।

यीबाहेक २०१९ मा मन्त्री रहेका नितिन गडकरी, पियुष गोयल, ज्योतिरादित्य सिन्धिया र अर्जुन राम मेघवालले फेरि मन्त्री पद पाउन सक्नेछन्। टीडीपी सांसद राम मोहन नायडु पनि मन्त्री बन्नेछन्। ३६ वर्षीय राम मोहन भारतको सबैभन्दा कान्छो क्याबिनेट मन्त्री हुनेछन्।

एलजेपी (आर) बाट चिराग पासवान, जेडीयूबाट रामनाथ ठाकुर र ललन सिंह, हामका जीतनराम मांझी र अपना दल (एस) की अध्यक्ष अनुप्रिया पटेल पनि मन्त्री बन्न सक्नेछन्। मनोहर लाल बाहेक राव इन्दरजीतलाई पनि हरियाणाबाट फोन आएको छ। यूपीको पिलिभित सिटका सांसद जितिन प्रसादले पनि मन्त्री पद पाउनेछन्। मन्त्रिपरिषद्‌मा यूपी, राजस्थान र गुजरातको हिस्सा घट्ने विश्वास गरिएको छ।

उता महाराष्ट्रमा एनसीपी (अजित पवार गुट) का कुनै नेतालाई भने मन्त्री पदका लागि फोन आएको छैन। यसअघि राज्यसभा सांसद प्रफुल्ल पटेललाई मन्त्री बनाउने चर्चा थियो। यसप्रति एनसीपी नेताहरू असन्तुष्ट छन्। महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणविस दिल्लीमा एनसीपी नेता सुनील तटकरेको घरमा एनसीपी नेताहरूलाई मनाउन व्यस्त छन्।

नरेन्द्र मोदीले आज साँझ ७:१५ बजे राष्ट्रपति भवनमा तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिँदै छन्। यसअघि बिहान उनले महात्मा गान्धी र पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि उनले राष्ट्रिय युद्ध स्मारकमा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।

शपथ ग्रहणसँगै मोदीले लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने पूर्वप्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको ६२ वर्ष पुरानो कीर्तिमानको बराबरी गर्नेछन्। नेहरू सन् १९५२, १९५७ र १९६२ मा लगातार तीन पटक जितेर प्रधानमन्त्री बने। तर, नेहरू सरकारसँग पूर्ण बहुमत थियो। मोदीको तेस्रो कार्यकाल गठबन्धनको आधारमा चल्नेछ।

भारतमा १९९० को दशकदेखि गठबन्धनको राजनीति चलिरहेको थियो। यो प्रवृत्ति मोदीको नेतृत्वमा भाजपाले २०१४ र २०१९ मा पूर्ण बहुमत हासिल गरेर तोडेको थियो। तर २०२४ मा भाजपा २४० सिटमा सीमित भयो र यसपटक बहुमतका लागि उसले एनडीए गठबन्धनका दलहरूको सहयोग लिनुपरेको छ। 

जुन ७ मा संसद्‌को सेन्ट्रल हलमा भएको बैठकमा एनडीए नेताहरूले मोदीलाई आफ्नो नेता चयन गरेका थिए। अब शपथको पर्खाइ छ। समारोहमा चीन, पाकिस्तान र अफगानिस्तानबाहेक सात छिमेकी राष्ट्र नेपाल, श्रीलंका, बंगलादेश, माल्दिभ्स, सेशेल्स, मौरिसस र भुटानका राष्ट्र प्रमुखको सहभागिता रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .