ad ad

ग्लोबल


भारतको संसदमा घमासान, राहुल गान्धीले भाषण गर्दा मोदीले गरे दुईपटक हस्तक्षेप

भारतको संसदमा घमासान, राहुल गान्धीले भाषण गर्दा मोदीले गरे दुईपटक हस्तक्षेप

नेपालखबर
असार १८, २०८१ मंगलबार १५:२७,

सोमबार भारतीय संसदमा विपक्षी दलका नेता राहुल गान्धीले दिएको भाषणले सत्तारुढ गठबन्धनदेखि सामाजिक सञ्जालसम्म बहस सिर्जना गरेको छ। गान्धीले भाषण गरिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले दुईपटक उठेर हस्तक्षेप गरेका थिए।

कुनै सांसदले बोलिरहँदा प्रधानमन्त्री उठेर हस्तक्षेप गरेको सम्भवतः पहिलो पटक भएको भन्दै यसलाई आश्चर्यजनक घटना मानिएको छ। 

मोदी मात्र होइन, केन्द्र सरकारका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, वातावरणमन्त्री भूपेन्द्र यादव, कृषिमन्त्री शिवराजसिंह चौहान र संसदीय कार्यमन्त्री किरन रिजुजुले पनि उठेर बारम्बार गान्धीलाई अवरोध गरेका थिए।

गान्धीले आफ्नो भाषणमा भाजपातिर इसारा गर्दै हिंसा र घृणा फैलाउनेहरु हिन्दु हुन नसक्ने बताएका थिए।

त्यस्तै सभामुख पनि निष्पक्ष हुन नसकेको उनको आरोप थियो।

‘जब मैले तपाईंसँग हात मिलाएँ, तब तपाईं सिधा खडा हुनुभयो। मोदीजीसँँग हात मिलाउँदा भने तपाईं झुक्नुभयो,’ गान्धीले सभामुखलाई भने।

उनले अग्निपथ योजनाको विरोध गर्दै आफ्नो सरकार आए त्यसलाई खारेज गर्ने वाचा दोहोर्‍याए।

भाजपाले भने गान्धीले पूरै हिन्दु समाजलाई हिंस्रक भनेको भन्दै आपत्ति जनाएको थियो।

तर, गान्धीले तुरुन्त जवाफ दिएका थिए, ‘नरेन्द्र मोदीजी तपाईं पूरा हिन्दु समाज होइन, भाजपा पूरा हिन्दु समाज होइन, आरएसएस पूरा हिन्दु समाज होइन।’

त्यस्तै, गान्धीले भाजपा त्रसित रहेको बताइँरहँदा प्रधानमन्त्री मोदीले उठेर भनेका थिए, ‘लोकतन्त्र र संविधानले मलाई सिकाएको छ– विपक्षी नेतालाई मैले गम्भीरतापूर्वक लिनुपर्छ।’

गान्धीका केही भनाइ संसदको रेकर्डबाट हटाइएको छ। 

सोमबार संसदमा देखिएको दृश्यले आउँदो कार्यकालमा भाजपा र मोदीले संसदमा सबल विपक्षीको सामना गर्नुपर्ने संकेत देखाएको विश्लेषकहरुको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .