‘भारत फर्किंदैछु.... आफ्नो भाग्य संविधानको हातमा छाडेर। जय भीम!’
शुक्रबार ककरोच जनता पार्टीका मुखिया अभिजित दिपकेले सामाजिक सञ्जालमा लेखेर अमेरिका छाडेका छन्। भारतका जेनजीहरूको नेतृत्व गर्ने योजना बुनेर उनी बोस्टनबाट फर्केका हुन्।
शनिबार बिहान उनी दिल्ली अवतरण हुँदैछन्। त्यहीबेला पार्टीले दिल्लीमा विरोध तथा धर्ना आयोजना गरेको छ। जसको मुख्य माग शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा हो। प्रधानले परीक्षामा हुने व्यापक अनियमितता रोक्न नसकेको आरोप छ।
सुरुमा सो पार्टीका प्रवक्ताहरूले दिपकेलाई स्वागत गर्न विमानस्थलमा आउन जनमानसलाई आह्वान गरेका थिए। तर, पछि दिपकेले विमानस्थलमा भिडभाड नगर्न भन्दै जन्तरमन्तरमा प्रदर्शनमा सहभागी हुन भनेका छन्।
उनको आन्दोलनले ठूलो जनसमर्थन पाएको छ। सोनाम वाङचुक लगायतले विरोध प्रदर्शनमा सहभागी हुने बताएका छन्।
शुक्रबार ककरोच जनता पार्टीको विरोधमा प्रतिबन्ध लगाउन तुरुन्त सुनुवाइको माग गर्दै अदालतमा मुद्दा परेको थियो। तर, अदालतले त्यसलाई अस्वीकार गरेको छ।
अचानक दिपकेको यो पहलले चर्चा पाउनुअघि उनी बोस्टनमा जागिर खोजिरहेका थिए। त्यहीबेला उनको आँखा भारतका प्रधानन्यायाधीशले बेरोजगार युवालाई ‘साङ्ला’ भनेर गरेको टिप्पणीमा पर्यो।
त्यो देखेर उनले एक्समा लेखे, ‘सबै साङ्ला एकजुट भए भने के होला?’
त्यसपछि उनी भिडिओ गेम खेल्न थाले।
पछि फोन खेलेर हेर्दा चकित परे। किनभने उनको पोस्ट भाइरल भएको थियो। भारतीय युवाहरूले उनको भनाइमा व्यापक समर्थन गरेका थिए।
लगत्तै उनले मजाकमै ककरोच जनता पार्टीका नामबाट वेबसाइट र सामाजिक सञ्जाल खाता खोले। जसमा केही दिनमै स्थापित पार्टीहरूभन्दा धेरै फलोअर्स बन्न पुगे।
अहिले उनको पार्टीले प्रवक्ताहरू तोक्ने काम गरेको छ। जसले गर्दा यो पार्टीले सांगठनिक संरचना ग्रहण गर्दैछ। त्यसैले उनी युवाहरूको नेतृत्व गर्ने आकांक्षा लिएर स्वदेश फर्केका छन्। तर, अनलाइनमा उनलाई साथ दिएका भारतीय जेनजीले जन्तरमन्तरको मैदानमा पनि उनको साथ देलान्?
सम्भवतः यसैले उनको पार्टीको भविष्य तय गर्नेछ। एजेन्सी
Shares

प्रतिक्रिया