ग्लोबल


यी हुन् संयुक्त राष्ट्रसंघको आगामी महासचिवका ६ उम्मेदवार

यी हुन् संयुक्त राष्ट्रसंघको आगामी महासचिवका ६ उम्मेदवार

नेपालखबर
साउन ७, २०८३ बिहिबार १४:१४, काठमाडौँ

संयुक्त राष्ट्रसंघको आगामी महासचिव चयन प्रक्रियाको औपचारिक सुरुआत हुन एक साताअघि ६ जना उम्मेदवार पहिलोपटक सार्वजनिक टेलिभिजन बहसमा सहभागी हुँदै छन्।

विश्वव्यापी वित्तीय र विश्वासको संकट सामना गरिरहेको संयुक्त राष्ट्रसंघको भावी नेतृत्वबारे उम्मेदवारहरूको दृष्टिकोण प्रस्तुत गर्ने यो बहसलाई महत्त्वपूर्ण मानिएको छ।

महासभाको सभाहलमा हुने ९० मिनेटको बहसमा उम्मेदवारहरूले कूटनीतिज्ञ, संयुक्त राष्ट्रसंघका कर्मचारी तथा नागरिक समाजका प्रतिनिधिहरूका प्रश्नको उत्तर दिनेछन्।

कार्यक्रम ब्लुमबर्गमार्फत प्रत्यक्ष प्रसारण हुनेछ।

महासचिव एन्टोनियो गुटेरेसको उत्तराधिकारी बन्ने दौडमा चिलीकी मिसेल बाचेलेट, इक्वेडरकी मारिया फर्नान्डा एस्पिनोसा, अर्जेन्टिनाका राफाएल ग्रोसी, कोस्टारिकाकी रेबेका ग्रिन्स्पान, गुयानाकी क्यारोलिन रोड्रिग्स-बिर्केट र सेनेगलका माकी साल प्रतिस्पर्धामा छन्।

महासभाकी अध्यक्ष एनालेना बेयरबकले यो बहसले विश्वकै महत्त्वपूर्ण नेतृत्व पदका आकांक्षीहरूको नीति, प्राथमिकता र नेतृत्व दृष्टिकोण बुझ्ने दुर्लभ अवसर प्रदान गर्ने बताइन्। 

उनले बढ्दो ध्रुवीकरणको अवस्थामा संयुक्त राष्ट्रसंघलाई प्रभावकारी रूपमा नेतृत्व गर्न सक्ने, संस्थालाई २१औँ शताब्दीअनुकूल बनाउन सक्ने तथा संयुक्त राष्ट्रसंघको बडापत्र र शान्ति-सुरक्षा, मानवअधिकार तथा विकासका मूल स्तम्भप्रति प्रतिबद्ध नेतृत्व आवश्यक रहेको उल्लेख गरिन्। 

हाल संयुक्त राष्ट्रसंघ वित्तीय अभाव र विश्वसनीयतासम्बन्धी चुनौतीसँग जुधिरहेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त संस्थालाई अत्यधिक खर्च, सीमाभन्दा बाहिर फैलिएको कार्यक्षेत्र तथा अपेक्षित परिणाम दिन नसकेको आरोप लगाइरहेका छन्। 

अमेरिकाले संयुक्त राष्ट्रसंघले शान्ति र सुरक्षाको मूल भूमिकामा केन्द्रित हुनुपर्ने धारणा राखिरहेको छ भने अन्य सदस्य राष्ट्रले मानवअधिकार र विकासलाई पनि समान प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

अन्तर्राष्ट्रिय क्राइसिस ग्रुपका विश्लेषक रिचर्ड गोवानका अनुसार सन् २०१६ को महासचिव चयन प्रक्रिया तुलनात्मक रूपमा बढी प्रतिस्पर्धात्मक र उत्साहपूर्ण थियो। यसपटक उम्मेदवारहरू स्थायी सदस्य राष्ट्रहरूलाई असन्तुष्ट नबनाउने रणनीतिमा देखिएकाले प्रतिस्पर्धा अपेक्षाकृत संयमित बनेको उनको विश्लेषण छ।

उम्मेदवारहरूले यसअघि नै १९३ सदस्य राष्ट्रका प्रतिनिधिहरूसँग विस्तृत छलफल गरिसकेका छन्। उनीहरूले संयुक्त राष्ट्रसंघलाई अझ प्रभावकारी बनाउन जारी सुधारलाई निरन्तरता दिनुपर्ने, साथै विश्वव्यापी शान्ति प्रयासमा महासचिवको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखेका छन्।

आगामी ३० जुलाईमा सुरक्षा परिषद्का १५ सदस्यले उम्मेदवारहरूको पहिलो गोप्य ‘स्ट्र पोल’ मतदान गर्नेछन्। त्यसपछि आवश्यक समर्थन प्राप्त नभएसम्म मतदान दोहोरिनेछ। कुनै उम्मेदवारले कम्तीमा ९ मत प्राप्त गर्नाका साथै पाँच स्थायी सदस्यमध्ये कसैको भिटो नभएपछि नाम औपचारिक अनुमोदनका लागि महासभामा पठाइनेछ।

चयन हुने नयाँ महासचिवले १ जनवरी २०२७ देखि कार्यभार सम्हाल्नेछन्।

कूटनीतिज्ञहरूका अनुसार अहिले नै स्पष्ट अग्रता कसैले बनाएको छैन। यद्यपि राफाएल ग्रोसी सम्भावित अग्रपङ्क्तिका उम्मेदवारका रूपमा हेरिए पनि रेबेका ग्रिन्स्पान र क्यारोलिन रोड्रिग्स-बिर्केटले पनि उल्लेखनीय समर्थन प्राप्त गरिरहेका छन्।

विश्लेषकहरूले अन्तिम समयमा नयाँ प्रभावशाली उम्मेदवार उदाउन सक्ने सम्भावनालाई पनि अस्वीकार गरेका छैनन्।

भौगोलिक पालोको परम्पराअनुसार यसपटक ल्याटिन अमेरिकी क्षेत्रले महासचिव पदमा दाबी गरिरहेको छ।

साथै धेरै सदस्य राष्ट्रहरूले संयुक्त राष्ट्रसंघको इतिहासमै पहिलोपटक कुनै महिलालाई महासचिव बनाउनुपर्ने आवाज पनि उठाइरहेका छन्। (रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad