मनिलामा दक्षिणपूर्वी एसियाली नेताहरूको शिखर सम्मेलनको अवसरमा बिहीबार अमेरिका र रुसका शीर्ष कूटनीतिज्ञहरूले युक्रेन युद्धबारे छलफल गरेका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वर्षौं लामो युद्धको अन्त्य गर्ने उद्देश्यले रोकिएका वार्तालाई पुनर्जीवित गर्ने प्रयासमा अमेरिकाका दूतहरूसँग छलफल गरिएको बताएका छन्।
दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) को बैठकका लागि अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र रुसका विदेशमन्त्री सेर्गेई लाभ्रोभ दुवै फिलिपिन्समा छन्।
अमेरिकाको विदेश मन्त्रतालयले थप विवरण उल्लेख नगरी दुईबिच ‘अमेरिका र रुस सम्बन्धका साथै रुस र युक्रेन युद्ध अन्त्य गर्ने आवश्यकताबारे छलफल भएको’ बताएको छ।
उनीहरूले मध्यपूर्व द्वन्द्वबारे पनि छलफल गर्ने अपेक्षा गरिएको थियो, जसमा मस्कोले आफ्नो सहयोगी इरानविरुद्ध अमेरिकाले गरेको आक्रमणको निन्दा गरेको छ।
युक्रेनको युद्धले रुस र संयुक्त राज्य अमेरिकाको अन्य विषयमा सहमति गर्ने क्षमतामा समेत बाधा पुर्याएको रुबियोले पत्रकारहरूसँगको साक्षतकारमा बताए।
सम्भावित सहयोगका अन्य क्षेत्र तथा उपाय खोज्न तयार रहेको जनाउँदै उनले आफूहरू यो युद्ध समाप्त भएको हेर्न चाहेको बताए।
पछिल्लो समय युक्रेनमा द्वन्द्व अन्त्य गर्ने उद्देश्यका छलफल रोकिएको छ भने अमेरिकाको ध्यान मध्यपूर्वमा केन्द्रित छ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा अमेरिकी दूतहरू स्टिभ विटकफ र जारेड कुसनरसँग “कूटनीति कसरी पुनर्जीवित गर्ने भन्नेबारे महत्त्वपूर्ण छलफल गरिएको जानकारी दिएका छन्।
पछिल्लो समय युक्रेनले समुद्रमा प्रशोधित तेल डिपो र कार्गो जहाजलाई लक्ष्य गर्दै ड्रोन आक्रमण बढाइरहेको छ, जसका कारण रुसमा इन्धनको अभाव भएको छ।
जुन महिनाको अन्त्यमा युक्रेनको राजधानी किएभमा रुसले क्षेप्यास्त्र र ड्रोनले प्रहार गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको थियो। (रासस/ एएफपी)
Shares

प्रतिक्रिया