आन्दोलनमा रहेका ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपके बिरामी परेका छन्।
उनले सामाजिक सञ्जाल एक्समार्फत आफू बिरामी भएको जानकारी गराएका हुन्।
उनले लेखेका छन्, ‘विगत केही दिनदेखि मलाई उच्च ज्वरो र शरीर दुख्ने समस्या भइरहेको छ। पेन किलर खाएर काम चलाइरहेको छु।’
उनले अगाडि लेखेका छन्, ‘आज मलाई जन्तर-मन्तरमा मलाई देख्नुभएन भने माफी चाहन्छु। मलाई केही घण्टा आराम गर्न र अलि निको हुन आवश्यक छ।’
यद्यपि साँझसम्म विरोध स्थलमा फर्कने उनले बताएका छन्।
अभिजित दीपके एक महिनाभन्दा बढी समयदेखि सोनम वाङचुकसँग जन्तर-मन्तरस्थित विरोध स्थलमा उपस्थित छन्।
सोनम वाङचुकलाई अस्पताल भर्ना गरिएपछि उनी पनि अनशनमा बसेका थिए।
यसैबिच एनईईटी परीक्षाका प्रश्नपत्र बाहिरिएको घटनाविरुद्ध ककरोच पार्टीले आन्दोलन चर्काएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिलाई छिटो र कडा सजाय दिन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गरेका छन्।
उनले युवाको भविष्यसँग खेलवाड गर्ने जोसुकैलाई पनि नछाडिने प्रतिबद्धता जनाउँदै सम्बन्धित निकायलाई आवश्यक सबै प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले युवाको भविष्य सरकारको सर्वोच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै प्रश्नपत्र चुहावटमा संलग्नलाई कानुनी दायरामा ल्याई शीघ्र सजाय सुनिश्चित गर्न विशेष अदालत गठन गर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।
विद्यार्थीको हित संरक्षणका लागि सरकारले थप कदम चाल्दै जाने र युवाको भविष्यमा असर पुर्याउने प्रयास कसैलाई पनि छुट नदिइने उनले उल्लेख गरेका छन्।
मोदीले लेखेका छन्, ‘पेपर चुहावटका लागि जिम्मेवारहरूलाई सजाय दिन फास्ट ट्र्याक अदालत स्थापना गरिनेछ। देशका युवाहरूको कल्याण र भविष्य हाम्रो सर्वोच्च प्राथमिकता हो। आफ्नो भविष्यसँग खेलबाड गर्नेहरूलाई छाडिने छैन।’

मोदीको यो घोषणा यही जुलाई २० देखि ‘चलो संसद्’ अभियानसहित दिल्लीलगायत विभिन्न सहरमा भइरहेको प्रदर्शनका बिच आएको हो।
आन्दोलनरत पक्षले आन्दोलन अन्त्यका लागि तीनवटा प्रमुख माग अघि सारेको छ।
आन्दोलनका प्रवक्ता सौरभ दासले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, एनईईटी प्रश्नपत्र चुहावटका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति तथा शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध दर्ता गरिएका सबै मुद्दा फिर्ता लिनुपर्ने माग गरेका छन्।
साथै भविष्यमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएकाविरुद्ध यस्ता मुद्दा नचलाइने सरकारी प्रत्याभूति पनि माग गरिएको उनले बताएका छन्।
दासले शिक्षामन्त्रीको राजीनामा आन्दोलनको अपरिवर्तनीय माग भएको उल्लेख गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
यसैबिच केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डाले प्रश्नपत्र चुहावटजस्तो गम्भीर विषयलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गर्दै यसबारे गम्भीर र गहिरो छलफल आवश्यक रहेको बताएका छन्।
दासका अनुसार अस्पतालमा उपचाररत आन्दोलनकर्मी सोनम वाङचुकसँग पटकपटक छलफल भएको र आन्दोलनलाई पूर्ण रूपमा शान्तिपूर्ण बनाइराख्ने सहमति भएको छ।
वाङचुकले पनि सार्वजनिक रूपमा प्रदर्शनकारीलाई संयम अपनाउन र आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि बढाउन अपिल गरेको जानकारी दासले दिए।
उनले विगतका आन्दोलनमा असामाजिक तत्व घुसाएर शान्तिपूर्ण प्रदर्शनलाई बदनाम गर्ने प्रयास हुने गरेको आरोप लगाउँदै यसपटक त्यस्तो अवस्था दोहोरिन नदिन सतर्क रहन आग्रह गरे।
दिल्ली प्रहरीका अनुसार प्रदर्शनका क्रममा भएको झडपमा विशेष आयुक्तदेखि सहायक आयुक्त तहसम्मका वरिष्ठ अधिकारी तथा महिला प्रहरीसहित ११८ भन्दा बढी प्रहरी कर्मचारी घाइते भएका छन्। घटनामा करिब ६० जना प्रदर्शनकारी पनि घाइते भएको जनाइएको छ।
Shares

प्रतिक्रिया