ad ad

ग्लोबल


कोरोनाले विदेशमा ९५ नेपालीको मृत्यु, ७ हजार संक्रमित (सूचीसहित)

कोरोनाले विदेशमा ९५ नेपालीको मृत्यु, ७ हजार संक्रमित (सूचीसहित)

नेपालखबर
जेठ ४, २०७७ आइतबार २:३७,

कोरोना भाइरसबाट विभिन्न देशमा मृत्यु हुने नेपालीको संख्या ९५ पुगेको छ। झन्डै ७ हजार जना संक्रमित भएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विश्वका ३० देशमा गरेर ६ हजार ७ सय ८१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका हुन्।

मृतक ९५ मध्ये सबैभन्दा बढी बेलायतवासी ६३ नेपाली छन्। यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १५ नेपालीले ज्यान गुमाएका छन्।

यसैगरी संयुक्त अरब इमिरेट्स्ट (युएई) मा ९, साउदी अरबमा २, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, बहराइन र स्विडेनमा १/१ नेपालीको मृत्यु भएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए। तिनमा ७७ पुरुष र १८ महिला छन्।

समितिका अनुसार पछिल्लो साता मात्र कोरोनाका कारण यूकेमा १२, यूएईमा ३ र साउदी अरबमा २ नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आँकडाअनुसार कोरोनाबाट ११ देशमा गैरआवासीय नेपालीको मृत्यु भएको हो भने १९ देशमा संक्रमित भएको एनआरएनए, कोडिभ-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।

स्वास्थ्य समितिका अनुसार कतारमा २ हजार ५ सय, अमेरिकामा १ हजार ६ सय, यूकेमा १ हजार २ सय २१, बहराइनमा ३ सय ११, यूएईमा २ सय, कुवेतमा ८४, साउदी अरबमा ६ सय ७४, मलेसियामा ४९, तथा पोर्चुगलमा २९ नेपाली कोरोनाबाट संक्रमित भएका छन्।

यसैगरी आयरल्यान्डमा २२, स्पेनमा १३, क्यानाडामा १३, अस्टे«लियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्विडरल्यान्डमा ५, जर्मनी ४, फिनल्यान्डमा ४, साइप्रस ३, न्युजिल्यान्ड ३, माल्टामा २, हङकङमा २, पोल्यान्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको समितिले जनाएकाे छ। 

राहत वितरण
यसरी कोभिड-१९ बाट प्रभावित नेपालीका लागि राहत वितरण पनि भइरहेको गैरआवासीय नेपाली संघले जनाएको छ।

संघका महासचिव डा. हेमराज शर्माका अनुसार ४९ देशका ३ सय क्षेत्र (सहर) मा १ हजार ६ सय भन्दा बढी स्वयमसेवक र स्वास्थ्य सेवामा ७० भन्दा बढी चिकित्सक परिचालन गरिएको छ।

संघका अनुसार शनिबार साँझसम्म ३८ हजारभन्दा बढी गैरआवासीय नेपालीले प्रत्यक्ष र ४० हजारभन्दा बढीलाई परामर्श सेवा प्राप्त गरेका छन्।

मलेसिया, यूएई, साउदी अरब, कुबेत, बहराइन, स्पेन, पार्चुगल, इटली, माल्टा, साइप्रसमा संघले करिब ५५ लाख रुपैयाँ आर्थिक सहयोग समेत पठाएको संघका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिए।

स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत ३६ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधार मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गरिरहेको छ।

यसअघि संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड–१९ उच्चस्तरिय समिति गठन गरेर विभिन्न उपसमिति गठन गरी विश्वभर राहतका लागि अभियान सञ्चालन गरिरहेको थियाे। 

स्वास्थ्य समितिका संयोजक सापकोटाले कोरोना संक्रमणबाट बच्न उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई अनुरोध गरेका छन्। कोरोना संक्रमणको शंका लागेमा तुरुन्त आफ्नो चिकित्सककहाँ वा संघको स्वास्थ्य सेवा हटलाइनमा सम्पर्क गर्न उनले आह्वान गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .