ad ad

छापा खबर


स्वयंसेवाका नाममा नागढुंगाको सडकमा गुन्डागर्दी : डाक्टरको मानमर्दन, प्रहरी निरीक्षक मुकदर्शक

स्वयंसेवाका नाममा नागढुंगाको सडकमा गुन्डागर्दी : डाक्टरको मानमर्दन, प्रहरी निरीक्षक मुकदर्शक

नेपालखबर
जेठ ४, २०७७ आइतबार २:३८,

उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्ने निहुँमा टोले स्वयंसेवीले कोरोना संक्रमणको जोखिम र नियन्त्रणमा फिल्डमा खटिएका डाक्टरको हुर्मत लिएका छन् ।

शुक्रबार दिउँसो काठमाडौंको नागढुंगामा स्थानीय तहले खटाएका स्वयंसेवीले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.नारायण कार्की सवार गाडी खानतलासी गर्दै उनको हुर्मत लिएका हुन् । त्यो पनि प्रहरीकै सामुन्ने । यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

चितवन र हेटौँडामा कोरोना भाइरस परीक्षणको किट सकिएपछि डा.कार्की काठमाडौं हिँडे । सहयोगीसहित गाडीमा हिँडेका उनी उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा करिब १२ बजे आइपुगे । नाकामा सुरक्षाकर्मी देखिए । उनीहरूसँगै उभिएका थिए, युवाका केही हुल।

प्रहरीले गाडी रोक्न संकेत गर्‍यो । डा.कार्कीले संकेत गरेकै ठाउँमा गाडी रोके । तर, चेकिङ गर्न प्रहरी आएन । हुल बाँधेर उभिएका युवा गाडीनजिक आए । गाडीको झ्याल खोलेर बसेका कार्की भित्रै थिए । एक युवाले निर्देशन शैलीमा गाडीको पास देखाउन भने । कार्कीले पास देखाए ।

युवाले पासमा रहेको मोबाइल अन गरे । भिडियो बटन थिचे । भिडियोलाई फेसबुकको लाइभ मुडमा लगे । अनि कार्कीसँग सोधपुछ गर्न थाले । हुलहुज्जतसहित उत्रिएका युवाका गतिविधिसामु कार्की निरीह बने । खुरुखुरु प्रश्नको जवाफ दिँदै गए।

युवा यतिमै रोकिने पक्षमा थिएनन् । उनीहरू अब गाडी खानतलासी गर्नतर्फ लागे । कार्कीलाई गाडीबाट झर्न भने । आदेशअनुसार नै उनी झरे । पछाडिको सिटमा झोला देखियो । युवाले झोला खोल्न भने । उनले झोला खोले । झोलाको पत्रमा कागजात फेला परेपछि डिकी खोल्न भने । उनले डिकी पनि उघारेर देखाए।

केही फेला नपरेपछि युवाले डाक्टरको नाम सोधे । काम गर्ने संस्थाको परिचय मागे । कार्यरत संस्थाको ओहोदा सोधे । उनले सबै प्रश्नको जवाफ दिँदै गए । कमजोरी पत्ता लगाउन नसकेर दिक्क भएका युवाको ध्यान अचानक डाक्टरको मुखमा पुग्यो । किनकि उनको मुखमा मास्क थिएन । यही कमजोरीलाई प्रयोग गरेर युवाले डा.कार्कीलाई दिनुसम्म दुःख दिए ।

नाका चेकिङको सुरक्षा जिम्मा पाएका प्रहरी निरीक्षक हेमन्तविक्रम थापा पनि नजिकै उभिएका थिए । मातहत खटिएका सुरक्षाकर्मी उनीसँगै थिए । तर, चिकित्सकको हुर्मत काढ्ने युवाको गतिविधि रोक्न उनीहरूले जरुरी ठानेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .