अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्या गर्ने प्रयास गरिरहेको दाबी गरेका छन्।
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै इरानले आफूलाई मार्ने धम्की दिएको बताएका हुन्।
‘हजार मिसाइल तयार छन्, जसले इस्लामिक गणतन्त्र इरानलाई ताकिरहेका छन्। र, थप हजारौँ मिसाइल तुरुन्त प्रहार गरिनेछ, ट्रम्पले लेखेका छन्, इरानले अमेरिकाका वर्तमान राष्ट्रपतिलाई विश्वका जुनसुकै कुनामा गए पनि मार्ने भनेर दिएको धम्कीअनुसार मलाई मार्यो वा मार्ने कोसिस गर्यो भने मैले अगाडि नै निर्देशन दिइसकेको छु, अमेरिकी सेना एक वर्षभित्र वा समय थप गर्न पनि सकिन्छ- इरानका सबै क्षेत्र पूर्ण रूपमा ध्वस्त पार्न तयार र सक्षम छ।’

यसअघि गत बुधबार पनि अमेरिकाका राष्ट्रपति ट्रम्पले आफ्नो जीवन हर क्षण खतरामा रहेको बताएका थिए।
एयर फोर्स वानमा यात्राका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो नाम इरानीहरूको हिटलिस्टको शीर्ष स्थानमा रहेको दाबी गरेका थिए।
वास्तवमा पत्रकारहरूलाई उडानको समयमा झ्यालको पर्दा बन्द राख्न भनिएको थियो।
यसबारे सोध्दा ट्रम्पले भने, ‘यो खतरनाक उडान हुन सक्छ। यी (इरानीहरू) खतरनाक मानिसहरू हुन्। म सधैँ खतरामा हुन्छु। मेरो नाम उनीहरूको सूचीको शीर्षमा छ।’
ट्रम्पले पत्रकारहरूलाई ठट्टा गर्दै भने, ‘यदि मलाई केही भयो भने तपाईंहरूलाई पनि हुन्छ। सायद कुनै दिन तपाईंले आफ्नो पेसा परिवर्तन गर्नेबारे सोच्नुपर्नेछ।’
यसैबिच इजरायली सञ्चारमाध्यम कान न्युजका अनुसार अमेरिकाले इजरायलबाट आफ्ना १२ वटा एफ-२२ स्टिल्थ लडाकु विमान फिर्ता बोलाउन थालेको छ। जुन विमान फेब्रुअरीदेखि इजरायलको ओभ्दा एयर बेसमा राखिएका थिए।
रिपोर्टमा दाबी गरिएको छ, ‘ती इरानविरुद्ध सैन्य अपरेसनका लागि तैनाथ गरिएका थिए र हालैका आक्रमणमा पनि भाग लिएका थिए।’
यसैबिच ट्रम्पले इरानले वार्ता जारी राख्न अनुरोध गरेको दाबी गरेका छन्। साथै यस आग्रहलाई अमेरिकाले स्वीकार गरेको पनि उनले बताएका छन्।
ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘इरानले हामीलाई वार्ता जारी राख्न अनुरोध गरेको छ। हामीले यो अनुरोध स्वीकार गरेका छौँ, तर अमेरिकाले युद्धविराम भने अब समाप्त भएको बताएको छ।’
उता समाचार एजेन्सी रोयटर्सले आफ्नो स्रोतलाई उद्धृत गर्दै कतारका वार्ताकारहरू इरानमा उपस्थित रहेको र इरानका अधिकारीहरूसँग भेट गरिरहेको उल्लेख गरेको छ।
इरान र अमेरिकाबिच शान्ति सम्झौताका लागि पाकिस्तान मुख्य मध्यस्थकर्ता भए पनि कतार पनि यस विषयमा सक्रिय रूपमा संलग्न छ।
यस हप्ताको सुरुमा इरान र अमेरिकाबिच हानाहान भएका बेला इरानमा कतारका वार्ताकार पुगेका हुन्।
इरानले स्ट्रेट अफ होर्मुजमा जहाजहरूमा आक्रमण गरेपछि अमेरिकाले लगातार दुई रात इरानी भूमिमा सैन्य आक्रमण गरेको थियो।
रोयटर्सका अनुसार यो प्रयास तनाव कम गर्ने र अमेरिकासँगको समन्वयमा व्यापक वार्ताका लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले गरिएको हो।
Shares

प्रतिक्रिया