ad ad

ग्लोबल


यी हुन् ट्रम्पलाई गोली हानेको आरोपमा पक्राउ परेका व्यक्ति

यी हुन् ट्रम्पलाई गोली हानेको आरोपमा पक्राउ परेका व्यक्ति

डोनाल्ड ट्रम्प (फाइल तस्बिर) र उनलाई गोली हानेको आरोपमा पक्राउ परेका रायन रोथ


नेपालखबर
भदौ ३१, २०८१ सोमबार ११:२९, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ६४ दिनपछि फेरि घातक हमला प्रयास भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्प फ्लोरिडाको पामबिच काउन्टीमा रहेको इन्टरनेसनल गल्फ क्लबमा आइतबार खेलिरहेका बेला झाडीमा लुकेर कसैले नजिकै गोली चलाएको हो। त्यतिबेला ट्रम्प ३०० देखि ५०० मिटर मात्र टाढा थिए। तर उनलाई गोली लाागेन। 

उनी सुरक्षित रहेको सिक्रेट सर्भिस (गुप्तचर सेवा) ले जानकारी दिएको छ।

घटना अनुसन्धानको जिम्मा एफबीआईलाई दिइएको छ। एफबीआईले घटनालाई हत्या प्रयासका रूपमा अनुसन्धान गरिरहेको बताएको छ।

सेक्रेट सर्भिसका अनुसार ट्रम्पलाई नै ताकेर गोली हानिएको हो वा होइन भन्ने  कुरा अहिलेसम्म थाहा हुन सकेको छैन।

तर गोली चलाएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ।

उनको नाम रायन रोथ हो। ५८ वर्षीय उनी नर्थ क्यारोलिनाको ग्रिन्सबोरो क्षेत्रका बासिन्दा हुन् र पेसाले पूर्व निर्माण मजदुर हुन्।

यसरी समातिए उनी 
पामबिच काउन्टीका सेरिफ रिक ब्राडसाका अनुसार एजेन्टहरूले गोली चलाएपछि संदिग्ध झाडीबाट निस्के र आफ्नो कालो एसयूभीमा भागे। त्यसपछि एक प्रत्यक्षदर्शीले नम्बर प्लेटसहित त्यो गाडीको फोटो खिचे।

कारलाई पछि घेरेर क्लबको उत्तरमा मार्टिन काउन्टीमा रोकियो र नियन्त्रणमा लिइयो। ट्रम्पविरुद्ध आक्रमण प्रयास स्थानीय समयअनुसार आइतबार दिउँसो २ बजे भएको हो। 

रायन रोथ कस्ता व्यक्ति हुन्? 
पक्राउ परेका रोथ यसअघि पनि लागुऔषध ओसारपसार, बिना लाइसेन्स र बिमा सवारीसाधन चलाएको आरोपमा पक्राउ परेका थिए। उनी २०१७ मा हवाई गएका थिए।

उनी घरबारविहीन मानिसका लागि साधारण आवास बनाउने सेड-निर्माण कम्पनी चलाउँछन्।

डेली मेलका अनुसार यस वर्षको सुरुमा रिपब्लिकन पार्टीमा प्राइमरी चुनाव भइरहेका बेला रोथले ट्रम्पविरुद्ध लडिरहेका उम्मेदवार विवेक रामास्वामी र निक्की हेलीलाई समर्थन गरेका थिए।

रोथ पक्राउ परेपछि उनको फेसबुक र एक्स एकाउन्ट बन्द गरिएको छ। उनले सामाजिक सञ्जालमा ट्रम्पविरुद्ध धेरै पोस्ट गरेका थिए। साथै उनले डेमोक्र्याटि पार्टीलाई समर्थन पनि गरेका छन्।

रोथ युक्रेनका लागि कोष जुटाउने कार्यक्रममा संलग्न भएका थिए। उनी सन् २०२२ मा युक्रेन पनि गएका थिए। उनले सामाजिक सञ्जालमा यससँग सम्बन्धित कुरा सेयर पनि गरेका थिए। उनले युक्रेनको लागि लड्न र मर्न तयार रहेको पनि बताएका थिए।

रोथका जेठा छोरा ओरानले सीएनएनसँग भनेका छन्- मेरा बुबा मायालु, मेहनती मानिस हुनुहुन्छ। उहाँलाई फ्लोरिडामा के भयो भन्ने पनि थाहा छैन। तर घटनालाई बढाइचढाइ बताइएको छ। उहाँ यस्तो पागलपन काम गर्नुहुन्न। 

    जुलाईमा पनि ट्रम्पलाई हानिएको थियो गोली

    यसअघि गत जुलाई १३ मा पनि पेन्सिलभेनियामा चुनावी सभाका क्रममा ट्रम्पलाई गोली हानिएको थियो।

    गोली उनको कानमा लागेर रक्ताम्य भएको थियो। ट्रम्पको ज्यान बचे पनि उनको भाषण सुन्न आएका एक व्यक्तिको भने मृत्यु भएको थियो। 

    यसैगरी ट्रम्पको सुरक्षामा खटिएका सुरक्षाकर्मीले आक्रमणकारीलाई पनि तत्काल गोली हानी मारेका थिए। आक्रमणकारी २० वर्षीय थोमस क्रुक्स थिए।

    उनले केवल १३० मिटर टाढा एउटा भवनको छतबाट ट्रम्पलाई गोली हानेका थिए।

    ती व्यक्ति यति नजिक आउन कसरी पाए भन्ने विषयमा प्रश्न उठेको थियो। 

    घटना भएको दुई हप्तापछि सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चेटलले पदबाट राजीनामा दिनुपरेको थियो।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .