अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो महासचिव मार्क रुटले बुधबार ह्वाइट हाउस (अमेरिकी राष्ट्रपति कार्यालय) मा इरान युद्धबारे छलफल गरेका छन्।
ट्रम्पसँग भेटवार्तका क्रममा मार्क रुटले इरान युद्धबारे बोले।
उनले भने, ‘म इरान मुद्दामा तपाईंले गरिरहनुभएको काम कति महत्त्वपूर्ण छ भनेर स्पष्ट पार्न चाहन्छु। पहिलो र प्रमुख कुरा हो- आणविक क्षमता, जुन इरानले लगभग प्राप्त गर्नेवाला थियो र यो पूरा विश्वका खतरा बन्न सक्थ्यो।’
उनले थपे, ‘इरान आणविक क्षमता हासिल गर्ने अवस्थाको धेरै नजिक थियो। तपाईंले याद गर्नुभएको होला- सबै जी-७ का नेताहरूले यो आणविक क्षमता उल्लेखनीय रूपमा कमजोर भएको कुराको कदर गरे।’
मार्क रुटले बताएअनुसार युद्धका क्रममा ६ हप्तामा ४ हजारदेखि ५ हजारसम्म अमेरिकी विमानले युरोपका विभिन्न स्थानबाट उडान गरे। रोमानियाको राजधानी बुखारेस्टको विमानस्थललाई हवाई इन्धन भर्ने ट्यांकर विमान सञ्चालन सुनिश्चित गर्न अस्थायी रूपमा बन्द गर्नुपरेको थियो।
उनले अगाडि भने, ‘केही घटना जसले तपाईंलाई निराश बनाए, तर समग्रमा तपाईंका युरोपेली सहयोगीहरू तपाईंका साथमा उभिए।’
यस क्रममा अमेरिकाका राष्ट्रपति ट्रम्पले भने युरोपेली सहयोगीहरूको व्यवहारप्रति निराशा व्यक्त गरे।
उनले भने, ‘यदि मेरो ठाउँमा अरू कोही भएको भए आज तपाईं-हाम्रो यो बैठक पनि हुँदैनथ्यो। यदि उनीहरूले सहयोग गर्न चाहेको बताएको भए राम्रो हुन्थ्यो। यदि मैले उनीहरूलाई फोन गरेको भए, सायद आवश्यक परेमा मद्दत गर्ने उपाय फेला पार्ने थिए।’
ट्रम्पले थपे, ‘म इटाली, बेलायत, जर्मनी र फ्रान्सबाट निराश थिएँ। स्पेनको अवस्था धेरै खराब छ। तैपनि उसप्रति धेरै सम्मान छ। त्यसैले त्यसैले हामी यहाँ के भयो भनेर छलफल गर्नेछौं र अब के हुन्छ हेर्नेछौँ।’
Shares

प्रतिक्रिया