अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षामा खटिएका प्रहरी अधिकारीले आक्रमणकारीलाई त्यति नजिक कसरी आउन दिए भन्ने प्रश्न निरन्तर उठिरहेको छ।
गत शनिबार साँझ पेन्सिलभेनियाको बटलर काउन्टीको मैदानमा ट्रम्पको चुनावी र्याली चलिरहेको थियो। त्यतिबेला संदिग्ध आक्रमणकारी थोमस म्याथ्यु क्रुक्स घटनास्थलनजिकैको भवनमा पुग्न सफल भए। त्यहाँबाट थोमसले १३० मिटर (४३० फिट) टाढाबाट ट्रम्पलाई निशाना बनाएर गोली हाने।
एबीसी न्युजसँग कुरा गर्दै अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चेटलले भने- जुन भवनबाट संदिग्ध आक्रमणकारी क्रक्सले निशाना साँधेका थिए, त्यहाँ स्थानीय प्रहरीहरू भवनभित्र र बाहिर तैनाथ थिए।
बीबीसीको अमेरिकी सम्बद्ध संस्था सीबीएस न्युजले स्रोतलाई उद्धृत गर्दै भवनभित्र तैनाथ स्थानीय प्रहरीमा तीनजना स्नाइपर रहेको बताएको छ। उनीहरूले थोमस क्रुक्सलाई भवनको छतमा जान खोजेको देखेको आरोप छ।
उनले हानेको गोली ट्रम्पको दाहिने कानमा लाग्यो। र्यालीमा आएका एक दर्शकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिम्मेवारी कसको?
सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मी के दाबी गर्छन् भने आफ्नो एजेन्सी र्याली परिसरभित्र खटिएको र घटनास्थलबाहिरको सुरक्षाको जिम्मा स्थानीय प्रहरीको थियो। जसभित्र आक्रमणकारीले प्रयोग गरेको भवन पनि पर्छ।
बीबीसीले यस विषयमा जिज्ञासा राख्दा राज्य प्रहरीले उक्त भवन जुन क्षेत्रमा छ, त्यो आफ्नो जिम्मेवारीभित्र नपर्ने जवाफ दिएको छ।
एक प्रवक्ताले बीबीसीसँग सिक्रेट सर्भिसले मागे जति सबै संसाधन उपलब्ध गराएको बताए। उनका अनुसार र्याली स्थल परिसरमा ३० देखि ४० सैनिक पनि तैनाथ गरिएका थिए।

धेरै पर्यवेक्षकको प्रश्न के छ भने कसरी सुरक्षा योजना काम असफल भयो र आक्रमणकारी बिनाअवरोध ट्रम्पलाई गोली हान्न सफल भयो?
घटनाका बेला उपस्थित मानिसहरूले गोली चलाउनुभन्दा केही मिनेटअघि संदिग्ध व्यक्तिलाई घरको छतमा देखेको बताएका छन्।
बटलर काउन्टीका सेरिफ माइकल स्लुपले पनि स्थानीय सुरक्षा अधिकारीले आक्रमणकारीलाई देखेको तर उसलाई रोक्न नसकेको बताएका छन्।
सेरिफले पनि सुरक्षा व्यवस्था विफल भएको स्वीकार गरे त यसमा कुनै एक पक्षलाई दोष दिन नमिल्ने बताए।
पहिले नै असुरक्षित मानिएको थियो भवन
सुरक्षित वातावरण परामर्शदाताका संस्थापक जेसन रसेलले सन् २००२ देखि २०१० सम्म एजेन्टका रूपमा काम गरिसकेका छन्।
यस अवधिमा उनले चुनावी अभियानमा पनि काम गरे। रसेल भन्छन्- सिक्रेट सर्भिसले र्यालीमा सुरक्षाका लागि स्थानीय प्रहरीमा भर पर्नु सामान्य कुरा हो।
बीबीसीसँग कुरा गर्दै उनी भन्छन्- सिक्रेट सर्भिससँग सबै ठाउँमा तैनाथ गर्न पर्याप्त एजेन्ट हुँदैन।
रसेलका अनुसार सामान्यतया एजेन्टहरूले धेरै दिनअघि कार्यक्रम स्थलको निरीक्षण गर्छन्, ताकि सुरक्षा योजना बनाउन सकियोस्। अनि यो योजना स्थानीय प्रहरीसँग साझा गरिन्छ।
कुनै पनि कार्यक्रमका बेला सबै निकायबीच एकसाथ सूचना आदानप्रदान हुने उनको भनाइ छ।
रसेलका अनुसार जानकारी आदानप्रदान गर्न साझा गर्न १० सेकेन्ड मात्र ढिला भयो भने पनि आक्रमणकारीलाई गोली चलाउन पर्याप्त समय हुन सक्छ।
एनबीसी न्युजका अनुसार, सिक्रेट सर्भिसका जानकार दुई सूत्रले त्यस भवनको छत पहिलेदेखि असुरक्षित मानिन्छ भन्ने जानकारी प्राप्त भएको थियो।
रसल भन्छन्- सिक्रेट सर्भिसका एजेन्टलाई त्यो भवन खतरनाक हुनसक्छ भन्ने लागेको हुनुपर्छ। साथै उसलाई स्थानीय अधिकारीसमक्ष त्यो भवनमा पहुँच रोक्न सिपाही तैनाथ गर्न अनुरोध पनि गरेको हुन सक्छ।
उनी भन्छन्- कारण जेसुकै होस्, त्यसो हुन सकेन।
अमेरिकी सेनामा २१ वर्षसम्म प्याराट्रूपर र रेन्जरका रूपमा काम गरेका थोमस ग्लेसन यस घटनाका प्रत्यक्षदर्शी हुन्। उनी भन्छन्- त्यहाँ लामो दूरीका खतराविरुद्ध थप सुरक्षा हुनुपर्थ्यो।
उनी अघि भन्छन्- जति दूरी र सुविधा देखिन्छ, यदि कसैले ट्रम्पको हत्या गर्ने प्रयास गरिरहेको थियो भने त्यो ठाउँ उसका लागि सबैभन्दा उपयुक्त थियो।
अनुसन्धानको मुख्य जिम्मा एफबीआईलाई
यस घटनाको मुख्य जिम्मेवारी अमेरिकाको संघीय अनुसन्धान एजेन्सी एफबीआईको हो। एफबीआईले यो जिम्मेवारी लिएको छ। यसबाहेक सदन र सिनेट दुवैबाट धेरै छानबिन हुनेछ।
अमेरिकी गृह सुरक्षा सचिव अलेजान्ड्रो मेयोर्कासले यो सुरक्षाको ‘विफलता’ भएको बताएका छन्। उनले सीएनएनसँग भने- अब यस्तो घटना दोहोरिन सक्दैन।
अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चेटलले सोमबार भनेका छन्- हाम्रो एजेन्सीले संघीय र स्थानीय प्रहरीसँग घटना कसरी भयो र भविष्यमा यस्ता घटना हुन नदिन के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको छ।
उनले यस घटनाबारे हुने कुनै पनि अनुसन्धानमा आफूले सहयोग गर्ने बताए।
एबीसीलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्- यस घटनाको जिम्मेवारी ममाथि छ। केही सांसदले मेरो राजीनामा मागिरहेका छन् तर म त्यसो गर्दिनँ।
चेटलले यही जुलाई २२ मा निरीक्षण र जवाफदेहिता समितिको सामना गर्नुपर्नेछ।
समितिका रिपब्लिकन नेताहरूले सिक्रेट सर्भिसलाई आन्तरिक सञ्चार, अडिओ र भिडिओ रेकर्डिङ, स्थानीय एजेन्सीलाई पठाइएका सन्देश, नक्सा र घटनापूर्वका मूल्यांकनसहित प्रमाण पेस गर्न आग्रह गरेका छन्। बीबीसीबाट
Shares

प्रतिक्रिया