भारतमा बिहारको राजनीतिले पुरै देशलाई प्रभाव पार्दै आइरहेको छ। बिहारमा आजबाट विधान सभाको चुनाव सुरु भएको छ। आज पहिलो चरणको मतदान जारी छ।
यस्तैमा बलिउड अभिनेता सोनु सुदले बिहारका जनतालाई असल नेता छान्न सुझाब दिएका छन्। उनले असल नेता छान्नका लागि भोट हाल्ने बेलामा मस्तिष्कको प्रयोग गर्न सुझाब समेत दिएका छन्।
अभिनेता सुदले सामाजिक सञ्जालमार्फत बिहारका जनतालाई अपिल गरेका हुन्। उनले ट्विटमा भनेका छन्, ‘जुन दिन हाम्रा बिहारी भाइहरुले घर छाडेर दोस्रो राज्यमा जानु पर्दैन, जुन दिन दोस्रो राज्यका जनता काम खोज्दै बिहार आउनेछन्, त्यो दिन देशको जित हुन्छ, भोटका लागि बटन औँलाले हाेइन दिमागले थिच्नुहोस्।’
उनले ट्विटरमार्फत असल नेता कसरी छान्ने भनेर आम जनतालाई सम्झाउने/बुझाउने प्रयास गरेका छन्। उनले जुन नेता आउँदा प्रदेशमा विकासको कामका साथै आमुल परिवर्तन हुन्छ, बाहिरका मान्छे काम गर्न आउने गरी रोजगारीको सिर्जना हुन्छ त्यस्तो नेता छान्न सुझाब दिएका हुन्।
लकडाउनमा सोनु सुदले बिहारका जनतालाई गरेको मद्दतका कारण बिहारमा उनको लोकप्रियता बढेको छ। लकडाउनका समयमा मुम्बईमा फसेका बिहारका जनतालाई सोनुले उद्धार गरी घर पठाएका थिए। कतिपयलाई उनले काम समेत दिलाएका थिए। बिहारको चुनाललाई लिएर उनले दिएको सुझाबले के कस्तो असर गर्छ त्यो भने हेर्न बाँकी नै छ।

प्रतिक्रिया