राजनीति


श्रीलङ्का पुगेर पोम्पिओले भने : चीन भक्षक हो, हामी साथी

श्रीलङ्का पुगेर पोम्पिओले भने : चीन भक्षक हो, हामी साथी

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार ७:५८,

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले यो क्षेत्रमा चीन एउटा भक्षकको रुपमा सञ्चालित रहेको बताएका छन्।

चीनसँग पछिल्लो समय राम्रो सम्बन्ध बनाउँदै गएको श्रीलङ्काको राजधानी कोलम्बो पुगेका उनले बुधबार चीनप्रति निकै आक्रामक भाषा प्रयोग गरेका हुन्।

‘गलत सम्झौताहरु, सार्वभौमसत्ताको उल्लङ्घन र भूमि तथा समुन्द्रमा हावी भएको कानुनविहीनताको स्थितिले याे क्षेत्रमा चिनियाँ कम्युनिष्ट पार्टी एउटा भक्षककाे रुपमा सञ्चालित रहेकाे हामी देखिरहेका छाैं,’ कोलम्बोमा गरिएको पत्रकार सम्मेलनमा पोम्पिओले भने, ‘अमेरिका भने फरक ढंगबाट आउँछ, हामी त एक मित्रको रुपमा र एउटा पार्टनरको रुपमा आउँछौं।’

एसियाका चार देशको भ्रमणमा रहेका पोम्पिओ मंगलबार नयाँ दिल्लीमा भारतसँग एउटा महत्वपूर्ण रक्षा सम्झौता गरेपछि बुधबार कोलम्बो पुगेका हुन्।

उनले यस क्षेत्रमा चीनको बढ्दो राजनीतिक, आर्थिक तथा सैन्य प्रभावलाई कम गर्ने योजनाका साथ बिभिन्न सम्झौता तथा समझदारीहरु गर्दै हिँडेका छन्।

चीनसँग सैन्य टकरावमा रहेको भारतमा उनी सबैभन्दा पहिले पुगे। भारत र श्रीलङ्काको स्थिति भने ठीक उल्टो छ।

श्रीलङ्काले चाहिँ अहिले बेइजिङसँग निकट रहेर पूर्वाधार विकासमा सहकार्य गर्दै आएको छ।

चीनले आफ्नो बेल्ट एन्ड रोड इनिसियटिम (बीआरआई) परियोजनासँग जोडेर श्रीलङ्कामा बन्दरगाह, राजमार्गजस्ता पूर्वाधार निर्माणका लागि अर्बौं डलर लगानी गरेको छ जसलाई अमेरिकाले साना देशलाई आफ्नो ऋणको फन्दामा पार्ने योजनाअनुसार गरिएको दाबी गर्छ।

याे पनि: भारत–अमेरिकाबीच ऐतिहासिक सम्झौता : यस क्षेत्रमा अमेरिकालाई के फाइदा? कसरी बढ्छ भारतको क्षमता?

सो अवसरमा श्रीलङ्काका विदेशमन्त्री दिनेश गुणवर्दनेले आफ्नो देशले सबैसँग राम्रो सम्बन्ध र शान्ति चाहने बताए।

‘श्रीलङ्का एउटा तटस्थ र असंलग्न राष्ट्र हो, यो शान्तिप्रति प्रतिबद्ध छ,’ उनले सो पत्रकार सम्मेलनमा भने, ‘हामी अमेरिका र अन्य देशहरुसँग हाम्रो सम्बन्धलाई निरन्तरता दिन चाहन्छौं।’

यता कोलम्बोस्थित चिनियाँ दूतावासले भने सोमबार एक वक्तव्य जारी गर्दै अमेरिकालाई श्रीलङ्कामाथि दादागिरी नगर्न चेतावनी दिएको थियो। -राेयटर्स

याे पनि: पोम्पिओ कोलम्बो पुग्नै लाग्दा चीनले अमेरिकालाई भन्यो– श्रीलङ्कामाथि दादागिरी नगर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad