कला


‘पेन्सन पट्टा’ को फस्टलुक पोस्टरमा दयाहाङ र गौमायाको जोडी

‘पेन्सन पट्टा’ को फस्टलुक पोस्टरमा दयाहाङ र गौमायाको जोडी

नेपालखबर
असार १५, २०८३ सोमबार १३:२, काठमाडौँ

कलाकार तथा निर्देशक माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ को फस्टलुक सार्वजनिक गरिएको छ। असार १५ को अवसर पारेर निर्माण टिमले आगामी भदौ २६ गते प्रदर्शनमा आउने चलचित्रका तीन फरक शैलीका पोस्टर सार्वजनिक गर्दै प्रचारप्रसार सुरु गरेको हो।

सार्वजनिक पोस्टरहरूले फिल्मको मूल कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, संघर्ष र ग्रामीण परिवेशलाई कलात्मक ढंगले चित्रण गरेका छन्। पहिलो पोस्टरमा दयाहाङ राई र गौमाया गुरुङ गाउँको परिवेशमा प्रस्तुत छन्। गौमायाको काखमा रहेको पाठो र दयाहाङको भावपूर्ण अभिव्यक्तिले सरल ग्रामीण जीवन, आत्मीयता र मानवीय संवेदनालाई संकेत गर्छ।

दोस्रो पोस्टरमा दुवै कलाकार हात समातेर झरनाको बाटो हुँदै यात्रा गरिरहेका देखिन्छन्। डोको बोकेकी गौमाया र भारीसहित अघि बढिरहेका दयाहाङको दृश्यले संघर्ष, प्रेम, सहयात्रा र जिम्मेवारीपूर्ण जीवनको अनुभूति गराउँछ। 

तेस्रो पोस्टरमा दयाहाङ सैनिक पोसाकमा प्रस्तुत छन् भने गौमाया परम्परागत गुरुङ पहिरनमा देखिएकी छन्। 

चलचित्रले आशा, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राख्दै जीवनमा लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने प्रयासको कथा प्रस्तुत गर्ने निर्देशक गुरुङले बताएका छन्।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ र गौमायासहित बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधरलगायतको अभिनय रहेको छ। 

सुशन प्रजापतिको छायांकन रहेको फिल्मको कथा तथा निर्देशन माओत्से गुरुङकै रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad