नीता फिल्म्सको प्रस्तुती रहेको फिल्म ‘पार्वती’ ले आफ्नो गीत ‘नौतुना रेलैमा’ मा टिकटक भिडिओ बनाउने दर्शकहरूका लागि पुरस्कार राशि सहितको विशेष प्रतियोगिताको घोषणा गरेको छ। प्रतियोगितामा सहभागी हुनेहरूले ‘नौतुना रेलैमा’ गीतमा सिर्जनात्मक भिडियो बनाएर टिकटकमा पोस्ट गर्नुपर्नेछ।
प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने तीन जना विजेतालाई आकर्षक नगद पुरस्कार प्रदान गरिने जनाइएको छ। जसअनुसार प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजार र तेस्रो पुरस्कार २० हजार रहेको छ। साथै ५ जना सहभागीलाई चलचित्रको निःशुल्क टिकट समेत प्रदान गरिने जनाएको छ।
प्रतियोगितामा सहभागी हुन भिडिओ पोस्ट गर्दा क्याप्सनमा ह्यासट्याग पार्वती, ह्यासट्याग भाद्र १२ र ह्यासट्याग नौतुना रेलैमा अनिवार्य रुपमा प्रयोग गरेको हुनुपर्ने छ। उत्कृष्ट भिडियो र प्राप्त भ्युज का आधारमा विजेता छनोट गरिने जानकारी दिइएको छ।
सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी तथा क्रिमसन श्रेष्ठले नृत्य गरेका छन्। विवाहको समयमा महिलाहरूले खेल्ने रत्यौलीलाई भिडिओमा रमाइलो पारामा प्रस्तुत गरिएको छ।
भिडियोमा दीपाश्री पुरुषको भेषभूषामा देखिएकी छन् भने नीता महिलाकै पहिरनमा छिन्। उनीहरूबीचको रमाइलो भिडिओमा हेर्न सकिन्छ। अभिनेत्री नीता ढुङ्गानाकै कथा तथा निर्देशनमा बनेको यस फिल्मको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना स्वयं रहेकी छन्।
फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन्। यो फिल्म ‘पार्वती’ आगामी भदौ १२ गते देशभर प्रदर्शन आउँदैछ।
Shares

प्रतिक्रिया