राजबहादुर सानेको फिल्म ‘गंगा रानी’ मा मुख्य अभिनेताको रूपमा नव अभिनेता रोशन केसी अनुबन्धित भएका छन्। पाँच सयभन्दा बढी आवेदकमध्ये छनोट हुँदै रोशनले डेब्यू गर्ने अवसर पाएका हुन्।
केही म्युजिक भिडिओमार्फत अभिनय यात्रा सुरु गरेका रोशन ‘गंगा रानी’लाई लिएर उत्साहित छन्। उत्कृष्ट कथा र अनुभवी टिमसँग काम गर्ने अवसर पाएकाले सिनेमामार्फत डेब्यू गर्न तयार भएको उनले बताएका छन्।
निर्माण टिमले वर्षा सिवाकोटी अनुबन्धित भएसँगै चार अभिनेता र चार अभिनेत्रीका लागि अडिसन खुलाएको थियो। सोही अडिसनबाट रोशन मुख्य अभिनेताको रूपमा छनोट भएका हुन्।
पाँच सयभन्दा बढी आवेदकबाट रोशनलाई मुख्य अभिनेताको रुपमा छनोट गरिएको निर्देशक सानेले बताए। निर्देशक सानेका अनुसार अहिले अडिसनबाट प्राप्त फोटो तथा भिडियोको आधारमा थप तीन अभिनेता र तीन अभिनेत्री छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
‘अडिसनमा आएका प्रतिभामध्ये पात्रसँग मिल्ने कलाकार छनोट गरिरहेका छौँ। अन्य कलाकारको नाम पनि छिट्टै सार्वजनिक गर्नेछौँ,’ निर्देशक सानेले भने।
आहा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने ‘गंगा रानी’का निर्माता कमलप्रसाद शर्मा हुन्। साने स्वयंको लेखन तथा निर्देशन रहेको फिल्मको छायांकन आगामी भदौको दोस्रो साताबाट सुरु हुनेछ।
निर्देशक सानेले यसअघि ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेन्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्।
सानेकै निर्देशन रहेको सिनेमा ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि प्रदर्शनको तयारीमा छ।
Shares

प्रतिक्रिया