कला


काठमाडौँमा देखाइयो ६ उत्कृष्ट चिनियाँ फिल्म

काठमाडौँमा देखाइयो ६ उत्कृष्ट चिनियाँ फिल्म

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार १३:६, काठमाडौँ

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका ६ चिनियाँ फिल्मको काठमाडौँ प्रदर्शन सम्पन्न भएको छ। बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा तीन दिन चलेको थियो।

चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर यो कार्यक्रम गरेको हो। तीन दिनका नौ शोमा देखाइएका ६ चिनियाँ फिल्म करिब एक हजार चार सय दर्शकले हेरेको आयोजकले जनाएको छ।

यस कार्यक्रम पश्चात चिनियाँ चलचित्रकर्मीले नेपाली बजारलाई गम्भीरताका साथ लिएको महसुस भएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले अनुभव व्यक्त गरे। ‘चिनियाँ चलचित्रहरू पनि नेपालमा नियमित तथा व्यावसायिक रूपमा प्रदर्शन हुने वातावरण निर्माण हुने र नेपाली चलचित्रहरू चिनियाँ बजारमा विभिन्न माध्यमबाट प्रदर्शन हुनेमा हामी आशावादी छौँ। दुई देशको बजारमा एक-अर्कालाई प्रवेश गराउने माध्यम यस्तै कार्यक्रमहरू हुन्,’ उनले भने।

नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिसटर काउन्सिलर चोउ पानले दुई देशबीचको सांस्कृतिक आदानप्रदानको सबैभन्दा जीवन्त माध्यम चलचित्र भएको भएको उल्लेख गरे।

कार्यक्रमको पहिला दिन मंगलबार फिल्महरू ‘ट्रयाप्ड’, ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ प्रदर्शन भएका थिए। दोस्रो दिन बुधबार ‘समर डायरी’, ‘द स्याडोलेस टावर’ र ‘जर्नी टु द वेस्ट’ प्रदर्शन गरिएका थिए। अन्तिम दिन बिहीबार ‘लस्ट इन द स्टार्स’, ‘द स्याडोलेस टावर’ र ‘जर्नी टु द वेस्ट’ प्रदर्शन भएका थिए।

कार्यक्रमको पहिलो दिन ‘द ट्रयाप्ड’का निर्देशक सागर झाङले फिल्म प्रदर्शन पश्चात नेपाली दर्शकसँग प्रश्नोत्तर गरेका थिए। सस्पेन्स क्राइम जनरामा बनेको यो फिल्ममा सन् १९९५ मा चीनमा बन्दुक प्रतिबन्ध हुनुभन्दा एक वर्षअघि जेलबाट भागेको एक गुण्डाले सहरमा बिताण्डा मच्चाएको कथा देखाइएको छ। तथापि, यसको कथा पूर्ण काल्पनिक भएको निर्देशक झाङको भनाइ छ।

झिहाई लिउद्वारा निर्देशित फिल्म ‘बियोन्ड द स्काइज’ले युद्धको कथा समेटेको छ। सन् १९३५ मा चिनियाँ गृहयुद्धको एक घटनाबारे बनेको यो फिल्मले ४८ घण्टा भित्र शत्रुको गोलाबारुद डिपो ध्वस्त पार्ने अभियानमा निस्केका एक साहसी युवा कम्युनिस्ट सिपाहीको कथा प्रस्तुत गर्दछ। उनका साथमा ३५० सहकर्मी सिपाहीको जीवन खतरामा रहेको परिस्थितिले फिल्मलाई रोचक बनाएको छ।

वु सुआङ निर्देशित ‘समर डायरी’ मरुभूमिमा बस्ने एक बालक आफ्नी आमा खोज्न सहर निस्किँदा विकसित परिस्थिति र उसको जीवनमा आएको परिवर्तनको कथामा बनेको छ।

झाङ लु निर्देशित फिल्म ‘द स्याडोलेस टावर’ एक असफलताको सामना गरिरहेका वृत्तचित्र निर्मातालाई केन्द्रीय भूमिकामा छन्। बेइजिङ सहरको छायाँ र उज्यालोबीच जीवनमा असफलताहरू भोगिरहेका एक वृत्तचित्र निर्माताको रहस्यमयी युवतीसँगको भेट र निकटताबारेको कथामा फिल्ममा प्रस्तुत छ।

‘जर्नी टु द वेस्ट’को निर्देशक दाशाङ कोङ हुन्। यस फिल्मका शीर्ष कलाकार एक पत्रिकाका सम्पादक हुन्छन्। पत्रिकाको स्तर खस्किए पनि उनी एलियनको खोजीमा लागिरेहका हुन्छन्। यही अवस्थामा अन्तरिक्षबाट आएको संकेतले उनी एलियनको खोजीमा पुनः सक्रिय रहेको कथामा यो फिल्म बनेको छ। हाँस्य खुराकले यो फिल्मले मनोरञ्जन प्रदान गर्छ।

फिल्म ‘लस्ट इन द स्टार’ सस्पेन्स क्राइम जनराको फिल्म हो। यसको कथा थाइल्यान्डमा एक गर्भवती महिलालाई भीरबाट खसालिएको वास्तविक घटनामा आधारित छ। नवविवाहित श्रीमती हनिमुनको क्रममा रहस्यमय रूपमा हराउँछिन्। सबैले उनका श्रीमान्लाई हत्याराका रुपमा शंका गर्छन्। मृत भनिएकी श्रीमती अचानक सकुशल फिर्ता भएको घटनाले आश्चर्य प्रदान गर्छ। 

काठमाडौँस्थित चिनियाँ सांस्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयका कन्फुसियस इन्स्टिच्युटहरूको पनि सहयोगमा यो कार्यक्रम भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad