कला


किम्फको २३औँ संस्करण जेठ दोस्रो साता, उद्घाटन फिल्ममा ‘शेप अफ मोमो’

किम्फको २३औँ संस्करण जेठ दोस्रो साता, उद्घाटन फिल्ममा ‘शेप अफ मोमो’

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १३:४६, काठमाडौँ

काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण जेठ १३ देखि १७ गते (२७ देखि ३१ मे) सम्म हुने भएको छ।

ठमेलस्थित क्यूएफएक्सको छायाँ सेन्टरमा आयोजना हुने महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक राम्यता लिम्बूले बताइन्। अन्तर्राष्ट्रियस्तरमा चर्चित फिचर फिल्म, वृत्तचित्र, छोटो चलचित्र र साहसिक कथामा आधारित फिल्म समावेश गरिएका छन्।

नेपाल पानोरमातर्फ समकालीन नेपाली समाज र स्थानीय जीवनका कथालाई केन्द्रमा राखिएका चलचित्र प्रदर्शन गरिने जनाइएको छ। महोत्सवको उद्घाटन नेपालीमुलकी भारतीय निर्देशक त्रिवेणी राई निर्देशित फिल्म ‘शेप अफ मोमो’ को नेपाल प्रिमियरबाट हुनेछ। फिल्मले शहरको जागिर छोडेर हिमाली गाउँ फर्किएकी विष्णु पात्रको जीवन र पहिचानको संघर्षलाई प्रस्तुत गरेको छ। 

नेपाल र स्विट्जरल्यान्डबीचको कूटनीतिक सम्बन्धको ७०औँ वर्षका अवसरमा ‘अल्पाइन एलायन्स: नयाँ नेपाली सिनेमाको लहर’ शीर्षकमा विशेष संवाद कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा स्वीस फिल्म ल्याब र विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी भइसकेका नेपाली फिल्मकर्मी सहभागी हुनेछन्।

त्यस्तै, ‘ह्वाट्स इन अ स्टोरी: सिनेमा एन्ड सेन्सरशिप’ शीर्षकमा चलचित्र र सेन्सरसम्बन्धी प्यानल छलफल पनि आयोजना हुनेछ। नेपाल-जापान कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा जापानी निर्देशक साकामोटो जुन्जी निर्देशित क्लाइम्बिङ फर लाइफ विशेष प्रदर्शन गरिनेछ। यो फिल्म सगरमाथा आरोहण गर्ने पहिलो महिला जुनको ताबेईको जीवनमा आधारित छ।

किम्फको अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा भारतकी अन्तर्राष्ट्रिय फिल्म प्रोग्रामर दीप्ति डी’कुन्हा, थाइल्यान्ड फिल्म अभिलेखालयकी निर्देशक चलिदा उअबुमरुङ्जित, नेपाली लेखक तथा कवि कुमार नगरकोटी तथा इटालीस्थित चेर्भिनो सिनेमाउन्टेन महोत्सवका निर्देशक लुका बिच रहेका छन्।

जुरीले उत्कृष्ट फिचर फिक्सन, फिचर वृत्तचित्र, छोटो फिक्सन र छोटो वृत्तचित्र विधामा पुरस्कार दिनेछ। अन्तर्राष्ट्रिय विधाअन्तर्गत उत्कृष्ट फिचर वृत्तचित्र र उत्कृष्ट फिचर फिक्सनलाई जनही एक हजार पाँच सय अमेरिकी डलर तथा उत्कृष्ट छोटो वृत्तचित्र र छोटो फिक्सनलाई जनही एक हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ।

नेपाल पानोरमाअन्तर्गत उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट फिक्सन चलचित्रलाई एक लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। किम्फ दर्शक पुरस्कार पनि एक लाख रुपैयाँकै छ।

यस वर्ष किम्फले काठमाडौँ डकल्याबको दोस्रो संस्करण पनि आयोजना गर्दै छ। दक्षिण एसियाली प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले पाकिस्तान-क्यानडाकी अनम अब्बास, भुटानका अरुण भट्टराई तथा भारतकी सर्भनिक कौरले नौ दक्षिण एसियाली परियोजनालाई मार्गदर्शन गर्नेछन्।

फिल्म ल्याबसँगको सहकार्यमा छोटो फिक्सन ल्याब तथा स्क्रिप्ट पिचिङ फोरम पनि आयोजना गरिनेछ। युवा फिल्मकर्मीलाई प्रोत्साहन गर्न  ‘आशा: ड्रीम्स इन मोसन’ शीर्षकअन्तर्गत स्क्रिनिङ र प्यानल कार्यक्रम पनि हुनेछ। साथै युनिसेफ, युरोपियन युनियन, प्लान इन्टरनेशनल र युवाको सहकार्यमा ‘हर क्लाइमेट स्टोरी’  शीर्षकमा कार्यक्रम आयोजना गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad