नवीन सुब्बा निर्देशीत फिल्म ‘नुमाफुङ’ ले प्रदर्शनको ठीक २५ वर्ष पूरा गरेको छ। रजत जयन्तीको अवसरमा निर्माता कम्पनी मेन्छायेम पिक्चर्सले यो केवल फिल्म नभई नेपाली घरेलु फिल्मको धार नै बदल्ने एउटा सांस्कृतिक आन्दोलन र कलात्मक कृति बनेको उल्लेख गरेको छ।
‘यस ऐतिहासिक चलचित्रको रजत जयन्ती मनाउँदै गर्दा, हामी एउटा चलचित्रको मात्र होइन, बरु नेपाली सिनेमालाई सधैँका लागि परिवर्तन गरिदिने एउटा आन्दोलन र कलाकृतिको उत्सव मनाइरहेका छौँ। एउटा चलचित्र मात्र हुनुभन्दा माथि उठेर, नुमाफुङले मौलिक नेपाली कथाहरू पस्कँदै आफूलाई उत्कृष्ट कलाको रूपमा स्थापित गर्यो,’ निर्माण टिमले भनेको छ, ‘यसले नेपाली सिनेमामा सीमान्तकृत र आदिवासी जनजाति समुदायका जीवन र आवाजहरूलाई प्रस्तुत गर्न नयाँ ढोकाहरू खोल्यो, जसका कथाहरू यसअघि पर्दामा विरलै देख्न पाइन्थ्यो।’
निर्माण पक्षका अनुसार ‘नुमाफुङ’ले नेपाली कथालाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म पुर्याउन पनि महत्त्वपूर्ण भूमिका खेलेको थियो। नेपाली कथा विश्वमञ्चमा पनि उभिन सक्छ भन्ने विश्वास यसले दिलाएको बताइएको छ।
‘नुमाफुङ’ विगतको सम्झना मात्र नभई आज पनि दर्शकको भावना र चेतनामा जीवित रहेको मेन्छायेम पिक्चर्सले जनाएको छ। ‘नुमाफुङ विगतको एउटा अवशेष मात्र होइन। यसको शक्तिलाई आज पनि महसुस गर्ने हरेक मनहरूमा यो जीवन्त छ र यो आगामी पुस्ताौँ-पुस्तासम्म रहिरहनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
फिल्मसँग जोडिएका निर्देशक, कलाकार, प्राविधिक र यसलाई माया गर्ने दर्शकप्रति निर्माण संस्थाले आभार पनि व्यक्त गरेको छ।
Shares

प्रतिक्रिया