‘विन्ध्यवासिनी म्युजिक अवार्ड’ को १६औँ संस्करण सम्पन्न भएको छ। शुक्रबार जमलस्थित राष्ट्रिय नाचघरमा कार्यक्रममा १२ विधामा अवार्ड र ५ विशिष्ट सम्मान प्रदान गरिएको हो।
‘परेली’ गीतबाट शिव परियार सर्वोत्कृष्ट गायक घोषित भए। त्यस्तै, चर्चित गायिका समीक्षा अधिकारी ‘के हेरेको टुलुटुलु’ बाट सर्वोत्कृष्ट गायिका घोषित भइन्। ‘मिर्मिरेमा बासेको भाले’ बाट शिव हमाल उत्कृष्ट संगीतकार हुँदा ‘परदेशी हुनै मन छैन’ बाट भुपेन्द्र बुढाथोकी उत्कृष्ट गीतकार भइन्।
लोकदोहोरी विधामा ‘झलिको’ बाट अर्जुन सापकोटा उत्कृष्ट गायक हुँदा ‘झ्याप्पै आए बाहुन दाई’ बाट ज्योति मगर उत्कृष्ट गायिका बनिन्। म्युजिक भिडियोतर्फ ‘कता हिँड्रयो साइला’ बाट प्रभात पल ठकुरी र गीता ढुंगाना उत्कृष्ट मोडल जोडी घोषित हुँदा ‘मायालाई पानको पात’ बाट विक्रम चौहान उत्कृष्ट निर्देशक बने।
त्यसैगरी ‘ए आमा जाम भन्यो मलाई’ बाट बुद्ध थापा उत्कृष्ट छायाँकार, ‘वैशले जुरुक्क पार्यो’ बाट दीपक विष्ट उत्कृष्ट म्युजिक भिडिओ संगीतकारको अवार्ड पाए। ‘पैसा जोगाउन’ बाट रीतु बोहरा नवप्रतिभा अवार्डबाट पुरस्कृत भए। सबै विधाका विजेतालाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा विशेष सम्मानहरू पनि प्रदान गरिएको थियो। वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई १ लाख रुपैयाँसहित विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८२ प्रदान गरियो।
गीतकार विजय शिवाकोटीलाई ५० हजार रुपैयाँसहित विन्ध्यवासिनी संगीत साधना सम्मान, गायिका रचना रिमाललाई २५ हजार रुपैयाँसहित प्रेमध्वज संगीत रत्न सम्मान, लोकगायक पशुपति शर्मालाई झलकमान लोक संगीत सम्मान तथा पत्रकार पवन आचार्यलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो।
राष्ट्रिय गानबाट सुरु भई गुरुआमाको समूहद्वारा प्रस्तुत नृत्यले रंगीन बनेको थियो। समिक्षा अधिकारी, रचना रिमाल र पशुपति शर्माको सांगीतिक प्रस्तुति दर्शकका लागि विशेष आकर्षण बन्यो।
लाइफटाइम अचिभमेन्ट अवार्ड विजेता शम्भुजीत बासकोटाको सम्मानमा सुमनकुमार श्रेष्ठले उनका चर्चित गीतहरू प्रस्तुत गरेका थिए। सुमनकुमारलाई आयोजक संस्थाका सञ्चालक सुवास रेग्मीले पनि गायनमा साथ दिएका थिए। त्यसै गरी विजय शिवाकोटीको सम्मानमा अजर जंगमले उनका सिर्जनाहरू गाएर माहोल थप उत्साहित बनाएका थिए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै फाउण्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले नेपाली सांगीतिक सर्जकहरूको सम्मान, संरक्षण र प्रोत्साहनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिईंदै आएको बताइन्।
Shares

प्रतिक्रिया