उत्साहजनक प्रतिक्रियासहित फिल्म ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ। गत शुक्रबार रिलिज भएको फिल्मले सकारात्मक प्रतिक्रिया पाउँदा शोहरु बढ्नेक्रम जारी छ।
सुरुमा करिब २ सय शो पाएको ‘गौँथली’ले दोस्रो साताको शुक्रबार २५० भन्दा माथि शो पाइसकेको छ। अधिकांशले शोमा दर्शकको चाप उच्च रहँदा व्यापार उत्साहजनक हुने निर्माणटिमको विश्वास छ। तर, बक्सअफिस रिपोर्ट भने निर्माण टिमले सार्वजनिक गरेको छैन ।
‘हरेक सोमबार चलचित्र विकास बोर्डले नै बक्सअफिस डेटा सार्बजनिक गर्दै आएको छ। त्यसैले हामीले सोमबार आधिकारिक रुपमा बोर्डले नै सार्वजनिक गरिहाल्छ भनेर बाहिर नल्याएका हौँ,’ निर्देशक कपिल रिजालले भने, ‘तर, धेरैले नसोचेको भन्दा सरप्राइजिङ बक्सअफिस रिपोर्ट आउँदैछ।’
पहिलो दिन औसत देखिएको हलमा त्यसपछिका दिनमा अकुपेन्सी बढेर हाउसफूलसम्म हुँदै आएको छ। कलाकारसहितको टिम हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेको छ। काठमाडौं उपत्यकासहित कलाकारहरू मोफसलका हल पुगेर दर्शकलाई भेटिरहेका छन्। एउटै परिवारबाट १०/१५ जनासम्मले सिनेमा हेरिरहेका छन्। हलमा पुरुषको भन्दा महिलाको संख्या उल्लेख्य रुपमा बढी देखिने गरेको छ ।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतको अभिनय छ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।
Shares

प्रतिक्रिया