कलाकार राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्यबीच बलियो समन्वय हुनुपर्नेमा जोड दिएका छन्।
शुक्रबार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सडक व्यवस्थापन प्रहरीको मात्र नभई आम नागरिकको पनि साझा जिम्मेवारी भएको बताए। हमालले समयसँगै सवारी साधनको सङ्ख्यामा अत्यधिक वृद्धि भएपनि सोही अनुपातमा भौतिक पूर्वाधारको विकास हुन नसकेको प्रति चासो व्यक्त गरे। समयसापेक्ष पूर्वाधार निर्माण र आधुनिक प्रविधिको प्रयोग गर्न सके सडक व्यवस्थापन अझ बढी व्यवस्थित र सुचारु हुने उनको भनाइ छ।
ट्राफिक प्रहरीको कार्यकुशलताको कदर गर्दै उनले नागरिकहरूले पनि आफ्नो जिम्मेवारी उत्तिकै गम्भीरताका साथ वहन गर्नुपर्ने बताए। सडकमा देखिने अत्यधिक हतारो र ‘छाडा’ प्रवृत्तिको चर्चा गर्दै हमालले सवारी चालक र पैदल यात्रीको मनोविज्ञानमा परिवर्तन आउनु जरुरी रहेको बताए। उनले सबैले एकैपटक हतार गर्दा सडक झन् भद्रगोल हुने र जाम बढ्ने यथार्थलाई बुझेर पहिला म नभई पहिला तिमी भन्ने संस्कार जरुरी रहेको बताए।
सडक विस्तार मात्रै समस्याको समाधान नभएको उल्लेख गर्दै उनले चुस्त व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। कतिपय विकसित मुलुकमा नेपालको भन्दा साँघुरा सडक भएपनि प्रभावकारी व्यवस्थापनका कारण सवारी आवागमन सहज रहेको उदाहरण दिँदै हमालले काठमाडौंको सन्दर्भमा म्यानेजमेन्टलाई दुरुस्त बनाउन सुझाव दिए।
ट्राफिक नियमको पालना गर्नु सबैको हितमा रहेको बताउँदै उनले यसलाई ‘विन–विन सिचुएसन’ (दुवै पक्षको जित) का रूपमा व्याख्या गरे। नियम पालना गर्दा नागरिक र प्रहरी दुवैको समय वचत हुने र सुरक्षा सुनिश्चित हुने उनको तर्क छ। समाजका हरेक तह र तप्काले हातेमालो गरेर मात्र काठमाडौंको ट्राफिक व्यवस्थापनलाई सही दिशा दिन सकिने भन्दै उनले सबै सरोकारवालालाई मर्यादित हुन आग्रह गरे।
Shares

प्रतिक्रिया