राजनीति


हिन्द महासागर सम्मेलन: पोर्ट लुइसमा परराष्ट्रमन्त्रीको कूटनीतिक दौडधुप

हिन्द महासागर सम्मेलन: पोर्ट लुइसमा परराष्ट्रमन्त्रीको कूटनीतिक दौडधुप

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री लालिलुर रहमानबीच मोरिससमा भेटवार्ता भएको छ।


नेपालखबर
चैत २९, २०८२ आइतबार १२:३९, काठमाडौँ

नवौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मरिसस पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले शनिबार आफ्ना समकक्षीहरूसँग 'साइडलाइन' भेटवार्ता गर्दै नेपालको द्विपक्षीय हित र क्षेत्रीय सहकार्यका एजेन्डालाई अघि बढाएका छन्।

मरिससको राजधानी पोर्ट लुइसमा मन्त्री खनालले आइतबार आयोजक राष्ट्र मरिससका विदेश तथा अन्तर्राष्ट्रिय व्यापारमन्त्री धनञ्जय रामफल र सिङ्गापुरका विदेश राज्यमन्त्री जुल्कर्नाइन अब्दुल रहीमसँग छुट्टाछुट्टै संवाद गरेका हुन्।

सम्मेलनको सिलसिलामा मन्त्री खनालको यो भेटघाटको शृङ्खला शनिबार मात्र सीमित रहेन। यसअघि शुक्रबार उनले भारतीय विदेशमन्त्री एस. जयशंकर, भुटानी विदेशमन्त्री डीएन ढुंगेल र बङ्गलादेशी विदेशमन्त्री लालिलुर रहमानसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका थिए।

परराष्ट्रमन्त्री खनाल भारतीय विदेशमन्त्री एस. जयशंकरसँग

सिसेलका परराष्ट्रमन्त्री बेरी फियुरसँग पनि दुइपक्षीय वार्ता गरेका थिए। भारतीय विदेशमन्त्री जयशंकरसँगको भेटमा नेपाल–भारत सम्बन्धका समग्र पक्ष र आपसी सहकार्यका क्षेत्रबारे समीक्षा भएको थियो भने भुटान र बङ्गलादेशका समकक्षीसँग क्षेत्रीय कनेक्टिभिटी र ऊर्जा व्यापारका विषयमा कुराकानी भएको राष्ट्रिय समाचार समितिले जनाएको छ।

नेपाल र मरिससबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विषयमा मन्त्री रामफलसँग छलफल भएको छ। विशेषगरी टापु राष्ट्रहरूसँग नेपालको जलवायु परिवर्तन र पर्यटन प्रवर्द्धनका साझा मुद्दाहरूमा सहकार्य गर्ने विषयले प्राथमिकता पाएको छ।

सिङ्गापुरका राज्यमन्त्री रहीमसँगको भेटमा दक्षिण–पूर्वी एसिया र दक्षिण एसियाबीचको कनेक्टिभिटी तथा क्षेत्रीय मञ्चहरूमा साझा चासोका विषयमा सहकार्य गर्ने सहमति भएको छ।

मन्त्री खनाल सिसेलका परराष्ट्रमन्त्री बेरी फियुरसँग

भेटका क्रममा मन्त्री खनालले नेपालमा वैदेशिक लगानीको वातावरण र द्विपक्षीय व्यापारका सम्भावित क्षेत्रहरूबारे समेत ब्रिफिङ गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ।

हिन्द महासागर क्षेत्रको सुरक्षा र आर्थिक सम्भाव्यताका बारेमा छलफल गर्न आयोजना गरिएको यस सम्मेलनमा नेपालको सहभागितालाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी भूपरिवेष्ठित मुलुक भएर पनि समुद्रसँगको पहुँच र 'ब्लु इकोनोमी' का लाभहरूमा नेपालले आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad