अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै पर्दामा देखिने भएका छन्। फिल्म ‘बाः एक योद्धा’मा यी दुवै आमाछोरीको भूमिकामा देखिनेछन्।
विगत दुई सातादेखि छायांकन भइरहेको यस चलचित्रमा रहेका कलाकारको नाम सार्वजिनक गरिएको छैन। यतिबेला काठमाडौँका विभिन्न स्थानमा चलचित्रको धमाधम छायांकन भइरहेको फिल्मको सेटको तस्बिर सार्वजनिक भएको छ। तस्बिरमा झरना-सुहानाले सेटमा एकसाथ टेक दिइरहेका छन्।
चैत ९ गते काठमाडौँस्थित पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको थियो। संगीतकारको रूपमा स्थापित हरि लम्सालको डेब्यू निर्देशन रहेको फिल्मले यो चलचित्रले नेपाली समाजको एउटा अत्यन्तै मार्मिक र यथार्थपरक कथालाई समेट्ने प्रयास गरेको छ।
संगीत र पार्श्व गायनमा दर्जनौँ गीतहरू दिइसकेका चर्चित संगीतकार लम्साल यसै चलचित्रमार्फत निर्देशकको रूपमा डेब्यु गर्दै छन्। लम्सालले निर्देशन मात्र नभई चलचित्रको कथा र पटकथा पनि तयार पारेका हुन्।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको चलचित्रको शीर्षकले नै संकेत गरेझैँ, यो सिनेमाले नेपाली परिवारमा बुवाको महत्त्व देखाउँछ। एउटा बाबुले आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि गर्ने त्याग, जीवनभर झेल्ने चुनौती र संघर्षलाई चलचित्रमा ‘योद्धा’को रूपमा चित्रण गरिएको छ।
यस चलचित्रका निर्माता वसन्त लम्साल हुन्। गायक तथा सर्जक समेत रहेका लम्सालले यस अघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए।
शिवराम श्रेष्ठको सिनेमाटोग्राफी रहने चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन्। चलचित्रको छायांकनको सम्पूर्ण कार्य सकिएपछि मात्र प्राविधिक पक्षको काम हेरेर प्रदर्शन मिति घोषणा गरिने निर्माण पक्षले जनाएको छ।
Shares

प्रतिक्रिया