प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने भएको छ भने नेपाली कम्युनिस्ट पार्टीले समर्थन गर्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले राप्रपासँग पनि छलफल गरेको जानकारी पाएपछि नेकपाले श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निष्कर्ष निकालेको हो।
नेपाली कांग्रेस र नेकपा (एमाले) भने निर्णय गरिसकेका छैनन्। यद्यपि नेकपाका एक नेताका अनुसार, तीनै दलको समर्थन एकै उम्मेदवारलाई हुनेछ।
‘रास्वपाले राप्रपाका उम्मेदवारलाई समर्थन गर्यो भने हामी उम्मेदवार उठाउँछौँ, रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गर्यो भने हामी उम्मेदवार उठाउँदैनौँ,’ ति नेताले नेपालखबरसँग भने, ‘राप्रपाको बाटो नै अलग छ। त्यसैले राप्रपालाई हाम्रो समर्थन रहँदैन।’
उपसभामुखमा रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन जनाएमा भने तीन दलले पनि उम्मेदवार नउठाएर श्रम संस्कृतिलाई नै सघाउने भएका छन्। रास्वपाले राप्रपालाई समर्थन गरेमा भने तीन दलले उम्मेदवार उठाउने तय गरेका छन्।
श्रम संस्कृति पार्टीले भने उपसभामुखमा उम्मेदवारी दिने भएको छ। यसका लागि रास्वपासँग एक चरणमा कुराकानी पनि भएको श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले बताए।
‘उपसभामुखलाई लिएर एक चरणको कुराकानी भएको छ,’ राई नेपालखबरसँग भने, ‘हामी उम्मेदवारी दिन्छौँ, नाम तय गर्दै छौँं।’
उपसभामुखका लागि आज उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। निर्वाचन भने शुक्रबार हुनेछ।
Shares

प्रतिक्रिया