तनहुँको गण्डकी वाङ्मय प्रतिष्ठानले यस वर्षको ‘गण्डकी वाङ्मय पुरस्कार-२०८२’ विशिष्ट सिद्धान्तकार एवं सञ्चारविद् प्राडा निर्मलमणि अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको छ।
प्रतिष्ठानको शनिबार बसेको कार्यसमिति बैठकले नेपाली साहित्य, सञ्चार र प्राज्ञिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अधिकारीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ।
प्रतिष्ठानकी अध्यक्ष गौकुमारी न्यौपानले यो पुरस्कार नयाँ वर्ष २०८३ को सन्दर्भ पारेर दमौलीमा हुने विशेष समारोहमा प्रदान गरिने जानकारी दिइन्। ‘नेपाली साहित्यको विकास, समृद्धि र श्रीवृद्धिमा डा. अधिकारीले पुर्याउनुभएको अतुलनीय योगदानको सम्मानस्वरूप उहाँलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो,’ न्यौपानेले भनिन्।
तनहुँको म्याग्दे गाउँपालिका-४ पिपलटार, छाङमा जन्मिएका प्राडा अधिकारी हाल काठमाडौँ विश्वविद्यालयअन्तर्गत भाषा तथा आमसञ्चार विभागका प्राध्यापक तथा विभाग प्रमुखका रूपमा कार्यरत छन्। उनले प्रतिपादित गरेको ‘सञ्चारको साधारणीकरण ढाँचा’ विश्वका विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश भई पठनपाठन भइरहेको छ।
Shares

प्रतिक्रिया