कला


बक्सअफिसमा ‘धुरन्धर-२’ को रेकर्ड नै रेकर्ड, कति पुग्यो कमाइ?

बक्सअफिसमा ‘धुरन्धर-२’ को रेकर्ड नै रेकर्ड, कति पुग्यो कमाइ?

नेपालखबर
चैत ९, २०८२ सोमबार १६:२८, काठमाडौँ

रणवीर सिंहको मुख्य भूमिका रहेको फिल्म ‘धुरन्धर-२’ ले बक्सअफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ। यस फिल्मले चार दिनमै विश्वभर साढे ७ सय करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ।

यससँगै ‘धुरन्धर-२’ ओपनिङ विकेन्डमै ऐतिहासिक सफलता हासिल गरेको हो। रिलिजको पहिलो दिनमै शाहरुख खानको ‘जवान’ को कीर्तिमानलाई उछिन्दै भारतमा १०२.५५ करोड रुपैयाँ कलेक्सन गरेर बलिउडको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्मको रेकर्ड बनाएको हो। विशेष कुरा त के छ भने, फिल्मले रिलिज हुनुभन्दा एक दिन अगाडि गरिएको पेड प्रिभ्युबाट मात्रै ४३ करोड रुपैयाँ भारू संकलन गरेको थियो।

त्यसैगरि, दोस्रो दिन शुक्रबार फिल्मले ८०.७२ करोड कमाएको थियो। शनिबार र आइतबार व्यापार अझै राम्रो भएको छ। शनिबार ११३ करोड भारू कलेक्सन गर्दा आइतबार ११४.८५ करोड पुगेको छ।

यसअनुसार घरेलु बक्सअफिसमा चार दिनको नेट कमाइ ४५४.१२ करोड भारू पुगेको छ। त्यसैगरि, ग्रस कलेक्सनमा ५४१ करोड भारूको आकंडा पार गरिसकेको छ। 

शाहरुख खानको ‘पठान’ ले पहिलो सप्ताहन्तमा २८७ करोड कमाएको थियो। योसँगै ‘धुरन्धर-२’ ले ‘बाहुबली’ (५९१ करोड), कल्की २८९८ एडी (५०० करोड) र आरआरआर (४७० करोड) को सुरुवाति सप्ताहान्तको रेकर्ड तोडेको छ। यो अब ‘पुष्पा-२’ (७६२ करोड) पछि भारतीय सिनेमामा दोस्रो सबैभन्दा ठूलो ओपनिङ सप्ताहान्त फिल्म बनेको छ।

भारतीय बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि फिल्मको जादु चलेको छ। विश्वभरको कूल कलेक्सन ४ दिनमा साढे ७ सय करोड रुपैयाँको आँकडा पार गरिसकेको छ। यो सँगै फिल्मले अमिर खानको ‘दंगल’ र एसएस राजामौलीको ‘बाहुबली: द बिगिनिङ’ जस्ता ठूला फिल्महरूले बनाएको लाइफटाइम रेकर्डलाई सुरुवाति दिनमै चुनौती दिएको छ।

‘धुरन्धर-२’ को सफलता यसकारण पनि विशेष मानिएको छ किनकि यो फिल्म झन्डै ३ घण्टा ५५ मिनेट लामो छ। सामान्यतया यति लामो फिल्मलाई दर्शकले झर्को मान्ने गर्छन्। साथै, सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएका कारण फिल्मको दर्शक दायरा केही सीमित भए पनि हलहरूमा दर्शकको चाप थामिनसक्नु छ।

समीक्षकहरूका अनुसार रणवीर सिंहको अहिलेसम्मकै उत्कृष्ट अभिनय र आदित्य धरको उच्च स्तरीय निर्देशनले फिल्मलाई सफल बनाएको हो। यो एक भव्य स्पाइ-थ्रिलर (जासुसी कथा) भएकाले दर्शकहरूले यसलाई हलिउड स्तरको फिल्म भन्दै प्रशंसा गरिरहेका छन्। बक्स अफिसको वर्तमान रफ्तार हेर्दा फिल्मले छिट्टै एक हजार करोडको क्लबमा प्रवेश गर्ने अनुमान गरिएको छ।

आदित्य धरको निर्देशनमा बनेको यस फिल्ममा रणवीर सिंह गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। साथै फिल्ममा सञ्जय दत्त, अर्जुन रामपाल र आर माधवन लगायतको अभिनय छ। ‘धुरन्धर: द रिभेन्ज’ बलिउडकै सुपरहिट फिल्म ‘धुरन्धर’ को सिक्वेल हो। 

गत ५ डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ले बक्सअफिसमा ठूलो सफलता हात पारेको थियो। भारतमा एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाउँदै धेरै कमाउने हिन्दी फिल्मको रेकर्ड बनाएको थियो। नेपालमा पनि यस फिल्मले १० करोडको आँकडा पार गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad