सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीका लागि सेलिब्रेटीले पनि आवाज उठाएका छन्।
इनिशालाई न्याय दिलाउन उनीहरूले सरकारसँग माग गरेका छन्। गायक तथा अभिनेता प्रकाश सपुतले बलात्कारमा संलग्न अपराधीलाई उम्काउने बहाना नखोजियोस् भन्दै फेसबुकमार्फत खबरदारी गरेका छन्। ‘यो घटनामा कानुनले शून्य सहनशीलता अपनाओस! र, तर, वा, अथवा, यद्यपी भनेर अपराधिलाई उम्काउने बहाना नखोजियोस्। हामीले थप छोरीहरू गुमाउन नपरोस्,’ उनले लेखेका छन्।
त्यस्तै, गायिका रचना रिमालले पनि फेसबुकमार्फत हत्याको विरोध गरेकी छन्। इनिशालाई न्याय दिलाउन सबैले आवाज उठाउन उनले आग्रह गरेकी छन्।
‘हामी सबैले एउटा आवाज उठाउनैपर्छ। छोरीहरूलाई चुप लाग्न बाध्य बनाउने होइन, न्याय दिलाउने। अपराधीलाई जोगाउने होइन, कडा सजाय दिलाउने। पीडितलाई दोष दिने होइन, उनलाई साथ दिने,’ रचनाले लेखेकी छन्, ‘अब मौन बस्ने समय सकिएको छ। छोरीहरूको सुरक्षा कुनै विकल्प होइन, यो अधिकार हो। यो देशमा निर्मला पन्त, निरु विक, इनिशा विक जस्ता पीडितले कहिले न्याय पाउँछन?’
अभिनेता तथा निर्देशक विराज भट्टले पनि अपराधीलाई छिटोभन्दा छिटो कारबाही गर्न माग गरेका छन्।
अभिनेत्री वर्षा शिवाकोटीले इनिशाको हत्याको खरबले गहिरो पीडा भएको बताउँदै अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेकी छन्। ‘यस्तो अमानवीय र क्रूर अपराधले हाम्रो समाजको आत्मालाई नै झस्काएको छ। यस जघन्य घटनामा संलग्न अपराधीहरूलाई कुनै प्रकारको संरक्षण होइन, कडा र निष्पक्ष कानुनी कारबाहीमार्फत कडाभन्दा कडा सजाय सुनिश्चित हुनुपर्छ। न्याय केवल पीडितका लागि मात्र होइन, सम्पूर्ण समाजका लागि आवश्यक छ,’ वर्षाले लेखेकी छन्।
गायक शिव परियारले ‘जस्टिस फर इनिशा’ ह्यासट्याग लेख्दै न्यायको माग गरेका छन्। दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनको माग छ।
गायिका एलिना चौहानले इनिशाको तस्बिर राख्दै कानुनी व्यवस्थामाथि प्रश्न उठाएकी छन्। उनले बलात्कारीलाई फाँसीजस्तो कठोर सजाय दिनुपर्ने माग गरेकी छन्।
अभिनेत्री केकी अधिकारीले पनि इनिशाको न्यायको लागि माग गरेकी छन्। उनले समाजको नैतिक अवस्थामाथि प्रश्न उठाउँदै लेखेकी छन्, ‘हामी समाजका रूपमा कहाँ उभिएका छौँ? दोषी नउम्कियोस्, समाजको चेत खुलोस्। त्यसपछि मात्र विकासका कुरा गरौँ।’
अभिनेत्री नीता ढुंगाना, पूर्वमिस नेपाली श्रृंखला खतिवडा, सुरक्षा पन्त लगायतका कलाकारले पनि फेसबुकमार्फत कारबाहीको माग गर्दै आवाज उठाएका छन्।
Shares

प्रतिक्रिया