चर्चित गायक तथा संगीतकार स्व. प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्ती अवसरमा चार संगीतकर्मीलाई सम्मान गरिएको छ। प्रधानकै जन्मस्थल सिन्धुपाल्चोकको चौतारामा गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा चारजनालाई नगदसहित सम्मान गरिएको हो।
गायिका मीरा राणालाई नगद १ लाख १ रुपैयाँसहित प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२ बाट सम्मानित गरियो। राणाको पतिको प्रतिकुल स्वास्थ्यका कारण कार्यक्रममा सहभागी हुन नसकेपछि सो सम्मान उनको भाई विजेन्द्र मिश्रले ग्रहण गरेका थिए।
प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मानबाट वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई नगद ५० हजार रुपैयाँ प्रदान गरियो। त्यस्तै, प्रेमध्वज प्रधान राष्ट्रिय युवा संगीत पुरस्कार २०८२ बाट गायक सुरजकुमार थापालाई नगद ५० हजारसहित सम्मान गरियो। प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा संगीत सम्मान सिन्धुपाल्चोकका गायक चन्द्र सिंह घलेलाई नगद २५ हजार रुपैयाँसहित प्रदान गरिएको छ।
सम्मान र पुरस्कार कार्यक्रमकी सभापती, प्रतिष्ठानकी संस्थापक अध्यक्ष तथा गायक प्रधानको पत्नी किरण प्रधान, प्रमूख अतिथि चौतारा सांगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा तथा अतिथीहरु सो नगरपालिकाकी उपप्रमूख सिता थापा, गीतकार तथा कवि दिनेश अधिकारी, गायिका तीर्थकुमारी थापालगायतले प्रदान गरेका थिए।
कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष तथा प्रेमध्वजकी भाञ्जी भुवन मास्केले चौतारावासीको तर्पबाट गरिएको सम्मान ग्रहण गरेकै हलमा आएर कार्यक्रम गरिएको जनाउँदै त्यसप्रति खुसी व्यक्त गरिन्।
गीतकार तथा दिनेश अधिकारीले प्रेमध्वजको व्यक्तिगत तथा सागितीक जीवनबारे चर्चा गर्दै प्रधान व्यक्तिको रुपमा पनि निकै सरल र असल स्वभावको रहेको बताए। उनले सिन्धुपाल्चोकका विद्यार्थी प्रेमध्वजको बारेमा विद्यावारिधी गर्नुपर्ने चर्चा गर्दै चौताराको कुनै स्थल प्रेमध्वजको नाममा नामाकरण गर्न, प्रेमध्वजको नाममा छात्रवृत्ती र पुरस्कार स्थापना गर्नसमेत स्थानिय सरकारलाई सुझाए।
कार्यक्रममा गायक सुरजकुमार थापा, चन्द्रसिह घले र रोशन श्रेष्ठले प्रेमध्वजका गीतहरु प्रस्तुत गरेका थिए भने स्थानिय वनदेवी माविका छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए।
गायक प्रधानको ४ वर्षअघि २०७८ सालमा निधन भएको थियो। प्रधानको नाममा उनको परिवारले २०७९ सालमा गोल्डेन भ्वाइस प्रेमध्वज स्मृती प्रतिष्ठानको स्थापना गरेको हो। जसले प्रेमध्वजको जन्मजयन्तीको अवसर पारेर प्रत्येक दुई वर्षमा नेपाली सुगम संगीतमा साधनारत संगीतकर्मीलाई सम्मान गर्दै आएको छ।
Shares

प्रतिक्रिया