राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि काठमाडौँमा संघीयताविरुद्ध आन्दोलन सुरु गर्ने भएको छ।
‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, तथा संघीयता खारेजी गरौँ’ भन्ने नारासहित जनमोर्चाले साताब्यापी आन्दोलनका कार्यक्रम गर्ने जनाएको हो।
जनमोर्चाले गर्ने संघीयताविरुद्ध आन्दोलनको प्रचार गर्दै रक्तिम सांस्कृतिक अभियानले सडक सांस्कृतिक कार्यक्रम सुरु गरेको छ।

रक्तिमका कलाकारहरूले काठमाडौँको स्वयम्भू, कलङ्की, माछापोखरी, बूढानीलकण्ठ तथा ललितपुरको लगनखेल, जाउलाखेललगायतका क्षेत्रमा विभिन्न सांस्कृतिक प्रस्तुति दिएका छन्।
कार्यक्रममा हालै रेकर्ड गरिएको नयाँ गीत ‘किन चाहियो संघीयता’, ‘मलाई डर छैन’ (कमेडी), ‘देश जान थाल्यो टुक्रा टुक्रा पारेर’, ‘शिशिर चिर्ने’, ‘उस्तै छ हामीलाई पिरलो’ लगायतका गीत प्रस्तुत गरिएको रक्तिमका महासचिव हेमराज आश्रमले बताए।
रक्तिमका अध्यक्ष गिरिप्रसाद बुढाको नेतृत्वमा रहेको कलाकार टोलीमा महासचिव आश्रम, केन्द्रीय सदस्यहरू उषा तारामीमगर, मानबहादुर नेपाली, क्षितिजा राहादी, विन्दु परियार, हरि सर्तुङीलगायत सहभागी छन्।

यस्तै कार्यक्रममा युजिन श्रेष्ठ, रमेश पुन, भुमा श्रीस, झविन्द्र नेपाली, प्रेनिला ज्ञामीमगर, समष्टि बुढालगायतको सहभागिता रहेको रक्तिमले जनाएको छ।
Shares

प्रतिक्रिया