नेपालमा बृहत कला प्रदर्शनी हुने भएकोछ। तारागाउँ सांस्कृतिक केन्द्रले साराफ फाउन्डेसनको सहकार्यमा काठमाडौँको बौद्ध स्थित तारागाउँ नेक्स्टमा बृहत कला प्रदर्शनी हुन लागेको हो।
शनिबारदेखि सुरू हुने प्रदर्शनीमा दक्षिण एसियाका १० जना उत्कृष्ट महिला कलाकारहरूले आ-आफ्ना सिर्जना प्रस्तुत गर्नेछन्।
डा. अर्शिया लोखन्डवालाको परिकल्पनामा हुने ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम र साउथ एसियन वुमनहुड’ नामक प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने आयोजकको भनाइ छ। दुई दिनसम्म चल्ने प्रदर्शनीले पितृसत्तात्मक संरचना, उपनिवेशकालीन धरोहर र लैंगिक राजनीति जस्ता विषय समेत सम्बोधन गर्ने जनाइएको छ।
प्रदर्शनीको औपचारिक उद्घाटनअघि जनवरी २३ मा ‘डिकोलोनाइजिङ द फेमिनः आर्ट, एजेन्सी एण्ड जेन्डर्ड पोलिटिक्स इन साउथ एसिया’ शीर्षकमा छलफल समेत आयोजना गरिएको छ।

प्रदर्शनीमा भारतका ४, नेपालका ३ र श्रीलंका, पाकिस्तान र बंगलादेशका १/१ जना महिला कलाकारका सिर्जना समावेश गरिनेछ। आयोजकका अनुसार भारतबाट अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला एन सहभागी हुनेछन्।
त्यस्तै, नेपालका अश्मिना रञ्जित, बिधाता केसी र उमा बिष्टासँगै श्रीलंकाकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बंगलादैंशकी तायबा बेगम लिपीका सिर्जना प्रदर्शनीमा राखिनेछन्। सबै कलाकारहरूले पारम्परिक लैंगिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र समाजिक संरचनाहरूको प्रभाव उजागर गर्नेछन्।
नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एशियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षहरूसँग जोड्ने प्रयास स्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेशन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफको भनाइ छ।
प्रदर्शनीले महिलाको सम्मानसँगै दमनका गर्ने दक्षिण एसियाली समाजको गहिरो र जटिल संरचनाहरूको विश्लेषण गर्ने जनाइएको छ। यसले दक्षिण एसियाली महिला जीवनको बहुआयामिक दृश्य प्रस्तुत गर्दछ, जहाँ ऐतिहासिक रूपमा महिलालाई सम्मान गरिएको छ भने समकालीन अवस्थामा लिंगीय असमानता, हिंसा र सांस्कृतिक परंपराको कठोर वास्तविकता पनि देखिन्छ। शिल्पकला, फोटोग्राफी, इन्स्टलेसन, भिडियो र प्रदर्शनजस्ता विभिन्न कला माध्यममार्फत, प्रदर्शनीका कलाकारहरूले महिलाको जीवनका काहानीहरूलाई पुनः परिभाषित र पुनः आकार दिनेछन्।
प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाहरूलाई अन्वेषण गर्ने सिर्जनाहरू समेत समावेश छन्। पुष्पमाला एनको ‘अभेगाः द प्यासन (२०१२)’ ले रामायणका महिलाका पात्रहरूको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्नेछ।
अश्मिना रञ्जितको ‘सीताः द आइडिएल वाइफ (२०२५) ले महिलाको अधिकार र स्वतन्त्रता खोस्ने हिन्दू परम्पराअनुसारको विवाहमा गरिने ‘कन्यादान’ प्रथाको आलोचना गर्छ। त्यस्तै, तायबा बेगम लिपीले आफ्ना सिर्जनामा विवाहको जटिलता र हिंसात्मक प्रवृत्तिलाई चित्रित गर्दैछन्। उमा बिष्टले छाउपडी प्रथा र कुमारी परम्पराको आलोचना गर्दै नेपाली महिलाका संघर्षलाई प्रस्तुत गर्ने जनाइएको छ।
बिधाता केसीले महिलाहरूलाई आफ्ना आकांक्षाहरू व्यक्त गर्न र समाजका अपेक्षाहरूलाई चुनौती दिनेछिन्। अनिता दुबे, नाइजा खान र अनोली पेरेराले आफ्नो कला मार्फत महिला शसक्तिकरण र स्वतन्त्रताका विषय उठन गर्नेछन्।
प्रदर्शनीको औपचारिक उद्घाटनका दिन कलाकार अश्मिना रञ्जितको विशेष प्रस्तुति रहनेछ भने जनवरी २५ का दिन ३ बजे कलाकारहररूले दर्शकहरूलाई आफ्ना कार्य र सिर्जनात्मकताबारे अनुभव सुनाउने आयोजकले जनाएको छ।
Shares

प्रतिक्रिया