‘बा : एक योद्धा’को मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको छ।
‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने डाइलग सँगै सुरु भएको टिजरको दृश्यमा चलचित्रका मुख्य पात्र दिव्यदेव पन्त छन्, जसको जुत्तादेखि टाउकोसम्म रगतै रगत लत्पतिएको छ। यसले उनी ठूलै घटनाबाट फर्किएको देखाउँछ। उनको चालले उनको परिवारकै कुनै सदस्य मिसिङ भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ।
दिव्यदेव जब आफ्नो घर अगाडि देखिन्छन्, उनको दिमागमा विगतका सम्पूर्ण दृश्यहरू एकपछि अर्को गर्दै पल्टिन्छन्। जसले उनको सुन्दर परिवार देखाउँछ। त्यसपछि देखिन्छ परिवारमा आएको विपत्ति। बाबालाई बोलाउँदै कुद्दै गरेकी छोरी र परिवारका अन्य सदस्य, गाउँले आत्तिँदै कुदेको दृश्यले परिवारमा घटेको ठूलो महाविपत्ति देखाउँछ।
त्यही बीचमा आउने दृश्यमा डाइलग छ– आज बाउको मुख हेर्ने दिन। तर एउटा बाले आफ्नो छोराको मुख हेर्न पाएन। यही बेला दिव्यदेव एउटा गाडीमा कतै गइरहेको दृश्य देखिन्छ। अनि आमा छोरी झरना थापा र सुहाना थापा रोइरहेको दृश्य।
टिजरले एउटा सुन्दर परिवार कसरी तहसनहस भइरहेको छ भन्ने देखाएको छ। तर, त्यसको कारण के हो भन्ने खुलाएको छैन। पूर्ण पारिवारिक कथा देखाउन सफल टिजरले परिवारको इमोस्नल कथा देखाएको छ। अचानक घट्ने घटनाले कसरी परिवार तहसनहस हुन्छ भन्ने यो सिनेमाले देखाउने प्रयास गर्ने टिजरले प्रस्ट गरेको छ।
चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ। नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा स् एक योद्धा’को मुख्य कथा रहेको बताइएको छ।
यस फिल्ममा दिव्यदेव, झरना र सुहानासँगै माओत्से गुरुङ, अनिल बुढाथोकी सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन्। फिचर सिनेमामा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन्।
चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन्। शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन्।
Shares

प्रतिक्रिया