एउटा घोडा होस्, जसको नाम होस् आजाद र जसले दिलाओस् आजादी! वाह! गज्जब छैन त वान लाइनर? केदारनाथ, काइ पो छे, रक अन जस्ता फिल्मका निर्देशक अभिषेक कपुरलाई आजभन्दा १४/१५ वर्षअघि यही वान लाइनरले एउटा कल्पदृष्टि दियो। अनि कल्पनामा आयो एउटा निक्खुर कालो घोडा। जो अति सुन्दर छ र जति सुन्दर छ त्योभन्दा अझै ज्यादा ताकतिलो छ।
१५ वर्षअघि उनको मस्तिष्कमा रोपिएको यो कल्पनाको बीज यतिबेला हुर्कीकन ठूलै रूख बनेर पनि अब त यसको फलको स्वादसमेत बजारले चाख्न थालिसकेको छ। हो, यही वान लाइनरमा भएजस्तै तर विस्तारित कथा बोकेको सिनेमा 'आजाद' यतिबेला भारत र नेपालका पनि क्यूएफएक्सलगायतका सिनेमा हलहरूमा प्रदर्शनरत छ।
फिल्मका पात्र र विषयवस्तुलाई हेर्दा आजभन्दा साढे २३ वर्षअघिको आमिर खान अभिनित फिल्म 'लगान'बाट कपुर प्रेरित देखिन्छन्। भारतमा ब्रिटिसहरूले शासन गरिरहेकै समयकाललाई लिएर दुवै फिल्मका कथा लेखिएका छन्।
यति मात्र नभएर खेलको माध्यमबाट हिरोले ब्रिटिसहरूलाई हराउनु र आफ्नो गाउँ/क्षेत्रलाई स्वतन्त्रता दिलाउनु दुवै कथानकको साझा विषयवस्तु हो। लगानको मुख्य पात्र 'भुवन' र आजादको मुख्य पात्र 'विक्रम सिंह'बीच अर्को एउटा कुरा पनि समान छ- जनावर प्रेम! खैर, यति धेरै समानता हुँदाहुँदै पनि दुई फिल्मबीच धेरै कुरा भिन्न छन्। आउनुस्, तिनै भिन्नता खोतल्दै 'आजाद' कस्तो फिल्म बन्न पुगेको छ भन्ने खुलदुली पनि मेटाइहालौँ।
प्रेम
आशुतोष गोवरिकरको लगानमा मुख्य पात्र भुवन र गौरीबीचको प्रेमलाई फिल्मको सुरुवातमै स्थापित गरिन्छ र त्यसलाई थप गहिराइ दिँदै लगिन्छ। दुईबीचको प्रेमलाई गहिराइ दिन तेस्रो पात्रलाई घुसाइन्छ। तर, तेस्रो पात्र घुस्नु अर्थपूर्ण पनि लाग्छ।
यता, कपुरको आजादमा भने दुई मुख्य पात्रका दुई प्रेमकहानी देखाउन खोजिएको छ। पहिलो कहानी रुचिकर त लाग्छ तर, बलियोसँग स्थापित हुनसकेको महसुस भने हुँदैन। दोस्रो प्रेमकहानी पनि यस्तो लाग्छ सुरु नहुँदै फिल्म सकिइसक्छ। सुरुवातदेखि नै दुईबीच केही हुन्छ जस्तै गरी दृश्य र संवादहरू आइरहन्छन् तर, दुईबीच अन्तिमसम्म पनि प्रेम स्थापित हुन सक्दैन।
उनीहरूबीच एक किसिमको आकर्षण त देखिन्छ तर, त्यसमा चुम्बकीय गुण भने देखिँदैन।
द्वन्द्व
द्वन्द्वमा पुग्न पनि यस फिल्मले निकै समय लिन्छ। जसरी लगानमा ढिलो नगरेरै कथामा द्वन्द्वको सिर्जना गरिन्छ, आजादमा मानौँ निर्देशकलाई कुनै हतार नै छैन विषयमा छिर्नलाई। लगानमा नायक र खलनायकको भेट चाँडै हुँदा कथाले समयमै एउटा रफ्तार पकडिएको थियो। जसकारण फाइदा के भएको थियो भने कथाको मुख्य पात्रले खेल जित्नका लागि एकपछि अर्को संघर्ष गर्नुपरेको दृश्यहरूका लागि पर्याप्त ठाउँ उपलब्ध हुनसक्यो।
तर, आजादमा घोडा र मुख्य पात्रबीचको सम्बन्धमा फिल्मले बढी समय लगानी गर्दै गर्दा नायक र खलनायकबीचको संघर्ष त्यति मजाले निस्किन पाएको छैन। जसकारण फिल्मको कथाभित्र द्वन्द्व फितलो अवस्थामा भेटिन्छ। खेल जित्न र आफ्नो गाउँवासीहरूलाई आजादी दिलाउनका लागि जति मिहेनत र संघर्ष लगानका पात्रहरूले गरेका थिए त्यति संघर्ष आजादको पात्रले गरेको नदेखिँदा दर्शकको हृदयको संवेदनशील पाटोमा फिल्मले तुलनात्मक रूपमा त्यति दखल दिन सक्दैन।
कथावाचन
त्यसो त बलिउडका र आमीर खानकै पनि अधिकांश फिल्महरूका तुलनामा लगानलाई स्लो पेसको फिल्म नै मानिन्छ। तर, गहिरिएर हेर्ने हो भने फिल्ममा राम्रै रफ्तार छ। एउटै गाउँ, उही साथीसंगत, सुरुदेखि अन्तिमसम्म एउटै कुरा- क्रिकेटमा तल्लीन पात्र देख्दा फिल्म एकै ठाउँमा भएजस्तो त देखिन्छ। यद्यपि, कथामा पात्रहरू नयाँ नयाँ समस्यामा फस्ने र नयाँ समाधान लिएर निस्किने क्रम चलिरहन्छ नै।
तर, कपुरको आजादमा भने विभिन्न ठाउँ, विविध पात्रका विविध सम्बन्धको कथा भन्दै अघि बढ्दा पनि फिल्म रफ्तारमा छ जस्तो अनुभव हुन पाउँदैन। घोडाको रेस लगाउने घोषणा नहुन्जेलसम्म त मानौँ कथा प्रतीक्षालयमा आरामसाथ 'आजादी' पर्खिरहेको छ। आजादको कथावाचनमा एक किसिमको आलस्य झल्किन्छ।
पात्र
कथावाचनमा रफ्तार हुनु नहुनु कहिलेकाहीँ पात्रको चरित्र चित्रणमा पनि निर्भर गर्छ। उता लगानको पात्र भुवनलाई जति स्वतःस्फूर्त चित्रण गरिएको छ, यता आजादको पात्र गोविन्दलाई त्यति नै निष्क्रिय प्रवृत्ति दिइएको छ। ऊ आफ्नै स्वविवेक प्रयोग गरेर कुनै पनि समस्या समाधान गर्न सक्दैन। घोडालाई खाना खुवाउने जुक्ति निकाल्न होस् या नुहाउनका लागि मनाउन होस्। या फेरि घोडामाथि सरदारी जताउन होस् या लड्ने/भिड्ने निर्णय गर्न होस् उसलाई अन्य पात्रहरूको सल्लाह, प्रेरणा चाहिएकै छ। पात्रको यस किसिमको चरित्र चित्रणले कथा नै ढिलो गरी भनिएको भान हुन्छ।
यस्तै पात्रकै कुरा गर्ने हो भने उता लगानमा पनि आफ्नै साथी लाखाले भुवनलाई धोका दिन्छ र यता आजादमा पनि आफ्नै साथी वीरुले विक्रम र गोविन्दलाई धोका दिन्छ। तर, लाखाले धोका दिनुको कारण लगानमा स्पष्ट भएजस्तो आजादमा भने वीरुले साथीहरूलाई धोका दिनुको कारण स्पष्ट छैन।
लगानका सानोभन्दा सानो भूमिकाका पात्रहरू पनि महत्त्वपूर्ण र प्रभावकारी लाग्छन्। किनभने, हरेक पात्रलाई गर्न सकिने जति पूर्ण प्रयोग त्यसमा गरिएको छ। जस्तो कि, आफ्नो गाउँको मुखिया मात्र नभएर अर्को गाउँको मुखिया समेत फिल्ममा पटकपटक देखिएका छन्। एकपटक भुवनको विरोधमा र अर्कोपटक खेलको दौरान समर्थकको रूपमा। स्पिनरको रूपमा लिइएको 'कचरा'लाई उसले खेलमा सहयोग पुर्याएको देखाइसकेपश्चात् पनि फेरि पनि लिइन्छ र खेलमा सहयोग पुर्याउन नसकेको अवस्थामा देखाइन्छ।
त्यति मात्र नभएर, खेलमा रेफ्रीको भूमिकामा लिइएको सामान्य लाग्ने पात्रको पनि गोवरिकरले अर्थपूर्ण र रोचक ढंगले प्रयोग गरेका छन्। यता आजादमा भने मुख्य पात्र विक्रम सिंहकी प्रेमिकाजस्तो बलियो पात्रको भूमिका पनि संकीर्ण लाग्छ।
यद्यपि, लगानमा संकीर्ण भूमिकामा देखिएकी आमा पात्रलाई भने आजादले विस्तृत भूमिका दिँदै शक्तिशाली चरित्रका रूपमा चित्रण गरेको छ।
यस्तै, लगानमा नभएको र आजादमा भएको, अझ भनौँ, विशेष किसिमको उपस्थिति जनाएको पात्र हो- आजाद! हो, आजाद नामको घोडालाई अभिषेक कपुरले यसरी देखाएका छन् कि यदि दर्शक पहिल्यै घोडाप्रेमी हो भने उसले यो फिल्मका कमीकमजोरीप्रति निर्धक्क आँखा चिम्लिदिनेछ।
फिल्मको अन्य पाटो जे जस्तो भए पनि घोडालाई नायक बनाएर, घोडाको संवेदनालाई दर्शकसम्म सोझै पुर्याउन सक्नेगरी यसअघि सायदै कुनै सिनेमा बलिउडले बनाएको थियो। घोडा पात्रलाई केन्द्रमा राखेर फिल्म हेर्ने हो भने निर्देशक कपुरले यसपटक पनि केही नयाँ नै गर्न खोजेको देखिन्छ।
यद्यपि, फिल्मले भन्ने कथा र कथा भन्ने तरिकालाई भने घोडाले बिर्साउन सक्नुपर्नेछ। किनभने, निर्देशकलाई कसैगरी आजादी मिल्छ भने यही घोडा आजादका कारण मिल्नेछ। होइन भने, दर्शकले छोडिहाल्ने थिएनन्।
Shares

प्रतिक्रिया