कला


अक्षरयात्रा प्रतिभा पुरस्कार पौडेललाई

अक्षरयात्रा प्रतिभा पुरस्कार पौडेललाई

नेपालखबर
फागुन १८, २०७६ आइतबार ५:४४,

 ‘अक्षरयात्रा प्रतिभा पुरस्कार–२०७६’ बाट पोखरेली साहित्यकार सञ्जीव पौडेल पुरस्कृत भएका छन्।

अक्षरयात्रामा सहभागी हुने उदीयमान स्रष्टालाई प्रदान गरिने उक्त पुरस्कार यस वर्षका लागि पौडललाई प्रदान गरिएको हो ।

रूपा गाउँपालिका–७, हंसपुरमा शनिबार आयोजित अक्षरयात्रा कार्यक्रमको १७५ औँ शृंखलाका अवसरमा कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले उनलाई पुरस्कृत गरेका हुन्।

पुरस्कार प्रदान समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका श्रेष्ठले साहित्यमा समयचेत र निरन्तरता सबैभन्दा मुख्य कुरा रहेको बताउँदै सर्जकले आफूलाई समयभन्दा अगाडि हिँडाउन सक्नुपर्ने धारण व्यक्त गरे। साहित्यिक अभियानरूले प्रतिभालाई निखार्दै जाने र समाजलाई मार्गनिर्देश गर्दै जाने कुरा बताउँदै उनले स्थानीय सरकारले साहित्य, कला र संस्कृति संरक्षणमा विशेष योजना ल्याउनुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै रूपा गाउँपालिकाका अध्यक्ष नवराज सुवेदीले लेखक कलाकारहरू निष्कृय बस्दा राज्यले विकास र सभ्यताको फड्को मार्न नसक्ने भन्दै साहित्यकारहरूले राजनीतिकर्मीलाई निरन्तर मार्गनिर्देश गर्नुपर्ने बताए। रूपा गाउँपालिकाले स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षणका लागि निरन्तर पहल गर्दै आइरहेको बताए। आगामी आर्थिक वर्षबाट साहित्य, कला, संगीत र संस्कृतिको प्रवर्धनका लागि विशेष योजना बनाएरै अगि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

हरेक कलाकार आफ्नो ठाउँका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै ओझाले आगामी फागुन २७ गते गाउँपालिकाको स्थापना दिवसका अवसरमा गाउँपालिकामा जन्मेर देशलाई विशिष्ट योगदान दिएका लेखकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको समेत सुनाए।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य सूर्य खड्का बिखर्चीले साहित्यिक पुरस्कारहरूले सर्जकमा ऊर्जा थप्ने हुँदा यस प्रकारका पुरस्कारको विशेष महत्व रहेको बताए। साहित्यिक रचनामा माटोको सुगन्ध निरन्तर आउनुपर्ने बताउँदै उनले साहित्यले संस्कृतिलाई समृद्ध बनाउन सक्नुपर्ने बताए।

२०२२ सालमा गण्डकी प्रदेशस्तरीय साहित्य सम्मेलन भएको हंसपुरको ऐतिहासिक स्थलमा नै कार्यक्रम आयोजना गरी हंसपुरकै स्रष्टालाई सम्मानित गर्न पाउँदा हंसपुरको गर्विलो इतिहासको पुनरागमन भएको आभास भएको रूपा गाउँपालिकाका–७ का अध्यक्ष दयासागर सुवेदीले बताए।

सो अवसरमा स्थानीय समाजसेवी कालीदास सुवेदीले २०२२ साालको ऐतिहासिक साहित्य सम्मेलनका बारेमा जानकारी गराएका थिए। सो अवसरमा रूपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले स्रष्टाका सिर्जनाले नै समाज सुन्दर हुने कुरा बताइन्।

कार्यक्रममा पुरस्कृत स्रष्टा पौडेलका बारेमा स्रष्टा परिचय सुरज उपाध्यायले दिएका थिए। पुरस्कृत भएपछि बोल्दै स्रष्टा सञ्जीव पौडेलले पुरस्कारले साहित्य लेखनमा थप जिम्मेवारीपूर्वक लाग्न प्रेरणा दिएको बताए। माटो र बाटोलाई निरन्तर सिर्जनाका कसीमा राखेर यथार्थ लेख्ने कार्यमा थप ऊर्जा प्राप्त भएको बताउँदै उनले अक्षरयात्राको मर्मअनुसार जीवन र जगतका सापेक्षमा कलम चलाइरहने प्रतिबद्धता जनाए।

पौडेल पोखरामा रहेर विगत दुई दशकदेखि साहित्य सिर्जना र साहित्यिक अभियानमा निरन्तर सक्रिय छन्। शिक्षण पेशामा आबद्ध उनको ‘यानी’ मुक्तक सङ्ग्रह प्रकाशित छ भने विभिन्न पत्रपत्रिकामा लेखरचना प्रकाशित छन्।

उक्त अवसरमा अक्षरयात्राका परिकल्पनाकार प्रकट पगेनी ‘शिव’, अक्षरयात्रा पुरस्कारका संस्थापक गोविन्द गिरी, साहित्यकार लक्ष्मण थापा, मोहन भण्डारीलगायतले सो अवसरमा मन्तव्य व्यक्त गरेका थिए।

युवा साहित्यकार गोविन्द गिरी र कृष्ण देवकोटाद्वारा २०६६ सालमा स्थापित सो पुरस्कारको राशि ५ हजार ५५५ रुपैयाँ रहेको छ। हालसम्म सो पुरस्कारबाट प्रकाश ज्ञवाली, रुपिन्द्र प्रभावी, कपिल शर्मा, सरला लामिछाने ‘सरू’, जीवनसागर भण्डारी, सुरज उपाध्याय पुरस्कृत भइसकेका छन्।

सो अवसरमा प्रकट पगेनी ‘शिव’, सूर्य खड्का बिखर्ची, लक्ष्मण थापा, मोहन भण्डारी, शिव सङ्कल्प, ईशा शाह, लालमणि पोखरेल, त्रुपक, विष्णुप्रसाद पोखरेल, जीवनाथ सुवेदी, माया कुँवर, मेघराज आचार्य, श्रीराम अधिकारी ‘गोर्जे’, नवराज देवकोटा, नेत्रराज घिमिरे, विश्वराज न्यौपाने, सौगात पोखरेल, सरला लामिछाने ‘सरू’, बिर्सना बस्नेत, मिर्मिसा पराजुली, पारु भण्डारी, भरतराज पौडेल, केआर ढकाल, गोविन्द गिरी, सुरज उपाध्याय, सञ्जीव पौडेल, अशोक ढकाल, कमल सुवेदी, करुणा भट्टराई, हरिराज अधिकारी, देवीरमण न्यौपाने, तारा पौडेल लगायतले रचना वाचन गरेका थिए। रूपा गाउँपालिकाका अध्यक्ष नवराज सुवेदी, लक्ष्मण थापा र मोहन भण्डारीको संयुक्त अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन गजल सन्ध्याका सचिव त्रुपकले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad