कला


‘छक्का पञ्जा ४’ को ट्रेलरमा अटेनन् जितु, भन्छन् : चित्त दुखाएको छैन

‘छक्का पञ्जा ४’ को ट्रेलरमा अटेनन् जितु, भन्छन् : चित्त दुखाएको छैन

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १३:४७, काठमाडौँ

चर्चित कलाकार जितु नेपाल ‘छक्का पञ्जा ४’को ट्रेलरमै अटाएनन्। दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, सीताराम कट्टेल, जितु नेपाल, निर्मल शर्मा लगायतले थालेको फिल्म निर्माण अभियानमा पहिलो पटक जितु नअटेका हुन्। 

‘६ एकान ६’ बाट सुरु भएको उनीहरुबीचको सहकार्यमा अहिले आएर समस्या भएको छ। 

यो समूहबाट यसअघि नै निर्मल शर्मा बाहिरिइसकेका छन्। अहिले जितु नेपाल पनि बाहिरिएका छन्। 

‘वडा नम्बर ६’ पछि सीताराम र ‘छक्का पञ्जा’ पछि निर्मल शर्मा यो समूहबाट छुटेका थिए। यो पटक जितु पनि यो समूहबाट बाहिरिएका छन्। 
 

‘छ माया छपक्कै’ सम्म जितु यो समूहका सदस्य थिए। ‘महानायक’ विवादपछि जितुले चलाउँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ बाट दीपाश्री निकालिएसँगै चिसोपना बढेको थियो। 

त्यस विवादसँगै दीपा र दीपकले जितुलाई नराखी फिल्म बनाउने निर्णयमा पुगे। यसबीचमा जितुको  ‘मुन्द्रेको कमेडी क्लब’पनि बन्द भएको छ। 
 
यही समूहले बनाउन लागेको ‘छक्का पञ्जा ४’ को ट्रेलरमा पनि जितुलाई देख्न पाइँदैन। 

यो समूहबाट जितु अलग भएको यसैले पुष्टि गरेको छ। अहिले नेपाली हलमा अक्षयकुमार अभिनित बलिउड फिल्म ‘सूर्यवंशी’ चलिरहेको छ। जहाँ दर्शकलाई ‘छक्का पञ्जा ४’ को ट्रेलर देखाइँदैछ।

समाचार अनुसार अहिले यो फिल्मको सुटिङ सुरु भएको छैन। दीपकराज गिरीले स्क्रिप्ट फाइनल गर्दैछन्। तर यो टिमले ट्रेलर भने बनाइसकेको छ। 

कमेडी मसला रहेको ट्रेलरमा दीपकराज र दीपासहित केदार घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा पनि छन्। तर जहाँबाट जितु नेपाल गायब छन्।
 
‘छक्का पञ्जा’ को चौथो सिरिजबाट फालिएपछि जितुले भने ट्रेलरमा नदेखिए पनि फिल्ममा देखिन सक्ने भने बताएका छन्। 

उनले ट्रेलरमा नहुँदैमा फिल्ममै आफू नभएको भन्ने अर्थ नलगाउन भनेका छन्। उनले दीपकराज गिरीले लेखेको कथामा आफू भए नभएको उनले केही बताउन चाहेनन्। उनले भने, 'त्यो कथामा म नअटेको पनि हुन सक्छु।' 
 
उनले दीपक र दीपाप्रति आफ्नो कुनै गुनासो नरहेको बताए। उनीहरुले नै आफूलाई नायक बनाइदिएको पनि उनले बताए। 

‘मलाई हिरो बनाइदिनुभयो । यति ठूलो नाम दिनुभयो। म उहाँहरुप्रति आभारी छु', उनले भनेका छन्, 'एउटा फिल्ममा नहुँदैमा चित्त दुखाएको छैन। म उहाँहरुलाई सदैव साथ दिन्छु। मलाई बोलाएमा काम गर्न तयार छु। नबोलाए पनि उहाँहरुकै साथमा छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad