ad ad

निर्वाचन विशेष


जनार्दनको गृहनगरको मतगणना रोचक मोडमा

जनार्दनको गृहनगरको मतगणना रोचक मोडमा

विशाल शर्मा र महेन्द्र केसी।


नेपालखबर
जेठ ५, २०७९ बिहिबार ११:५८, काठमाडौँ

माओवादी जनयुद्धको उद्गमस्थल रुकुम सदरमुकाम मुसिकोट नगरपालिकाको मतगणनामा कांग्रेस–एमाले गठबन्धनबाट सुरुदेखि नै लपेटिएको माओवादी केन्द्रले गणनाको अन्त्यतिर आइपुग्दा गठबन्धनलाई झिनो मतान्तरले उछिनेपछि यहाँको प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ ।

मुसिकोट नगरपालिका अर्थमन्त्री जनार्दन शर्माको गृहनगर पनि हो। 

जिल्लाका ६ मध्ये अधिकांश पालिकामा कांग्रेस–एमालेले माओवादी केन्द्रविरुद्ध गठबन्धन गरेका छन् । त्यसमध्ये सदरमुकाम रहेको मुसिकोट नगरपालिकामा कांग्रेस–एमालेबीचको गठबन्धन प्रभावकारी हुने ठानिएको थियो । 

किनभने, त्यो निर्वाचनमा कांग्रेस उम्मेदवारले ४ हजार र २ हजार बढी मत प्राप्त गरेका थिए ।  

कांग्रेस र एमाले उतिबेला एक्लै लड्दा माओवादी केन्द्रका मेयरका उम्मेदवार देवीलाल गौतम १ सय ७६ मतान्तरले विजयी भएका थिए । 

विजयी गौतमले ४ हजार ३ सय ५० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र केसीले ४ हजार १ सय ७४ मत प्राप्त गरेका थिए। तेस्रो स्थानमा रहेको एमाले उम्मेदवार विमलकुमार पुनले २ हजार ३ सय ५८ मत प्राप्त गरेका थिए। 

यसपटक एमालेसँग तालमेल गरेको नेपाली कांग्रेसले २०७४ मा पराजित केसीलाई नै मेयरको उम्मेदवार बनाएको छ। गठबन्धनबाट एमाले उम्मेदवारको रुपमा थलबहादुर ओली छन्। 

माओवादी प्रभाव क्षेत्र रुकुम सदरमुकाम मुसिकोटको जारी मतगणनाको मध्यसम्म कांग्रेस–एमाले गठबन्धन निकै प्रभावकारी देखियो। १४ वडामध्ये ११ वडासम्म पुग्दा माओवादी केन्द्रबाट मेयरको उम्मेदवार रहेका विशाल शर्मा र एकिकृत समाजवादीका उपमेयरका उम्मेदवार निरन्तर पछि परिरहे। 

जति बढी मतगणना हुँदै जान्थ्यो, उति माओवादी केन्द्र र एकिकृत समाजवादीका उम्मेदवार पछि पर्दै जान्थे। एकपटक त कांग्रेसका मेयरका उम्मेदवार केसीसँग माओवादी केन्द्रका उम्मेदवार शर्माबीच झण्डै दुई हजारको मतान्तरको पछाडि थिए। 

तर, जब १२ नं वडाको मतगणना सुरु भयो, माओवादीले विस्तारै ‘कमब्याक’ गर्न थाल्यो। १२ नं वडाको मत गणना हुँदा माओवादी केन्द्रका मेयरका उम्मेदवार शर्माले १ सय १३ मतले कांग्रेस उम्मेदवारलाई पछि पारे। 

१३ नं को गणना सकिँदा शर्माले मतान्तर अरु बढाए। १४ नं को मतगणना सुरु हुनुअघिसम्म शर्मा र केसीबीचको मतान्तर १ सय ८० पुगेको छ। उपप्रमुखमा पनि माओवादीसँग गठबन्धन गरेको एकीकृत समाजवादीका उम्मेदवार विमलकुमार पुनः अग्रस्थानमा छन्।

अहिले १४ नं वडाको मतगणना भइरहेको छ। यसअघिको निर्वाचनमा यो वडामा माओवादी केन्द्र निकै कमजोर स्थितिमा थियो। वडाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर विष्ट ४ सय ५० मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका छविलाल खत्रीले ३ सय २१ मत प्राप्त गरेका थिए। तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका हर्कबहादुर विष्टले सिर्फ १ सय ९ मत प्राप्त गरेका थिए। 

२०७४ को निर्वाचनमा कांग्रेस र एमालेले प्राप्त गरेको मत सुरक्षित गर्न सके भने मतगणनाको अन्तिमताका पछि पर्न थालेको कांग्रेस–एमाले गठबन्धनले अन्तिम विजय हासिल गर्न सक्छ। 

तर, अघिल्ला दुई १२ र १३ नं वडाको मत २०७४ को तुलनामा कांग्रेस–एमाले जोगाउन सकेको छैन, जसका कारण माओवादी केन्द्रका शर्माले यिनै दुई वडाबाट आफ्नो पुनरागमन सुरु गरेका छन् । १२ र १३ नं वडामा जस्तै १४ नं वडामा पनि उनले कांग्रेस–एमाले समर्थकको मत प्राप्त गर्न सके भने उनले विजय हासिल गर्नेछन् । 

१२ र १३ नं वडामा जस्तै कांग्रेस–एमालेको मत प्राप्त गर्न सकेनन् भने २०७४ मा झिनो मतान्तरले पराजित कांग्रेसका केसीले यसपटक विजय हासिल गर्नेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .