निर्वाचन विशेष


के समानुपातिक सिट पाउन प्रत्यक्षमा जित्नै पर्छ?

के समानुपातिक सिट पाउन प्रत्यक्षमा जित्नै पर्छ?

नेपालखबर
फागुन २३, २०८२ शनिबार १७:१५, काठमाडौँ

के जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको सिट प्राप्त गर्न प्रत्यक्षतर्फ १ सिट जित्नै पर्छ? सिधा उत्तर पर्दैन। 
यसबारे धेरैमा भ्रम देखिएको छ कि प्रत्यक्षमा कम्तिमा १ स्थानमा विजय प्राप्त नगरे समानुपातिकतर्फ थ्रेस होल्ड कटाए पनि सिट पाउँदैन भन्ने। समानुपातिकतर्फको निर्वाचन परिणामको शुरुवाती परिणाम अनुसार श्रम संस्कृति पार्टी र राष्ट्रिय परिवर्तन पार्टीले थ्रेस होल्ड कटाउने स्थिति देखिएको छ।

यी दुबै पार्टीले हालसम्म प्रत्यक्षतर्फ एक सिट पनि जितेका छ्रैनन्। श्रम संस्कृति पार्टीले ५ स्थानमा अग्रता लिइरहेको छ। तर जीत हाँसिल गरेका छैन। कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टीसँग समानुपातिक निर्वाचनमा सहकार्य गरेको राष्ट्रिय परिर्वतन पार्टीको प्रत्यक्षतर्फ कतै जीत हाँसिल गर्ने अवस्थासहितको अग्रता छैन। यस्तो अवस्थामा ती पार्टीले समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत मत ल्याए वा थ्रेस होल्ड कटाए सिट पाउँछ पाउँदैन?

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणाली २०७४ को दफा ६० को उपदफा ११ मा यस सम्बन्धि व्यवस्था छ ।  उक्त ऐन अनुसार समानुपातिकतर्फको सिट प्राप्त गर्न ३ प्रतिशतको थ्रेस होल्ड कटाउन मात्र जरुरी छ। प्रत्येक्षतर्फ कम्तिमा १ सिट ल्याउनै पर्ने जरुरी छैन।

भ्रम कसरी? 

यहाँ धेरैलाई ‘भ्रम’ सिर्जना भएको राष्ट्रिय दलको मान्यता प्राप्त गर्न पाउनुपर्ने मत र सिट संख्याको कारण हो । राजनीतिक दलसम्बन्धी ऐन २०७२ को दफा ५२ मा ‘राष्ट्रिय दलको मान्यता’ सम्बन्धि व्यवस्था छ ।

उक्त दफामा ‘प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गर्नेछ।’ भन्ने उल्लेख छ । आम मानिसलाई राजनीतिक दलसम्बन्धी यही नियमका अनुसार भ्रम सिर्जना भएको छ । यो व्यवस्था राष्ट्रिय दल बन्नका लागि मात्र हो । संसदमा सिट संख्या प्राप्त गर्नेबारे हैन ।

यसले अर्थ के हो?  
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र राजनीतिक दलसम्बन्धि ऐन २०७३ मा भएका यी व्यवस्थाहरु फरक फरक अवस्थाका लागि निर्माण गरिएका हुन् ।

यी दुबै ऐन अनुसार राष्ट्रिय दल बन्नका लागि कम्तिमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिक निर्वाचन प्रणालीमार्फत कुल सदर मतको कम्तिमा ३ प्रतिशत मत ल्याउन आवश्यक छ । तर यी दुबै पूरा नभएको खण्डमा वा प्रत्यक्षतर्फबाट कम्तिमा १ सिट जिते पनि समानुपातिको थ्रेस होल्ड कटाउन नसक्ने दल राष्ट्रिय पार्टी हुँदैन ।

र, समानुपातिकतर्फ थ्रेस होल्ड कटाए पनि प्रत्यक्षमा १ सिट नजितेमा पनि कुनै दल राष्ट्रिय दल बन्न सक्दैन । अर्थात, त्यस्तो अवस्थामा निर्वाचित हुने कुनै पनि दलका सांसद स्वतन्त्र सांसद सरह हुन्छन् । जसरी यसअघि तात्तकालिन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रत्यक्षतर्फ १० सिट रहे पनि समानुपातिक मतमा ३ प्रतिशतको थ्रेस होल्ड नकटाएकाले उनीहरु स्वतन्त्र सांसद सरह थिए ।

यसअघिको अभ्यास 
बागमति प्रदेशमा विवेकशील साझा पार्टीले प्रत्यक्षतर्फ एक सिट पनि जितेको थिएन। तर प्रदेश सभा सदस्य निर्वाचन प्रणाली अनुसार समानुपातितर्फ १.५ प्रतिशत कटाएका थिए। त्यसैले उक्त पार्टीले तीन सिट प्राप्त गरेका थिए । जसमा सिन्धुपाल्चोकका रमेश पौडेल, ललितपुरका शोभा शाक्य र काठमाडैका विराजभक्त श्रेष्ठ थिए । विराज अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौ क्षेत्र नं. ८ वाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad