निर्वाचन विशेष


महानगरका प्रमुखमा दोहोरिए रेनु र चिरिबाबु

०७४ मा झिनो मतान्तर, यसपटक भारी मतले विजयी
महानगरका प्रमुखमा दोहोरिए रेनु र चिरिबाबु

नेपालखबर
जेठ ११, २०७९ बुधबार ८:१५, काठमाडौँ

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। देशभरका ६ मध्ये पाँचवटा महानगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।

काठमाडौं महानगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ। काठमाडौंमा लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) साह करिब २० हजार मतान्तरसहित अगाडि छन्। 

अन्य पाँच महानगरपालिकाको अन्तिम मतपरिणाम अनुसार भरतपुरमा माओवादी केन्द्र, वीरगन्जमा जनता समाजवादी पार्टी, पोखरामा नेकपा एकीकृत समाजवादी, विराटनगर नेपाली कांग्रेस र ललितपुर नेपाली कांग्रेसले जित हात पारेको छ।

यसमध्ये कांग्रसले ललितपुर र विराटनगर गरी दुईवटा महानगर जितेको छ। जसपा १, एकीकृत समाजवादी १ र माओवादी केन्द्र १ महानगरका प्रमुखमा विजयी भएको छ। 

दोहोरिए चिरिबाबु र रेनु
सर्वाधिक चासो र चर्चाको केन्द्रमा रहेको चितवनको भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुखमा भने यसअघि निर्वाचित उम्मेदवार नै विजयी भएका छन्। 

चितवनमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल दोहोरिएकी छिन्। ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन पुन: निर्वाचित भएका छन्।  

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला समेत रहेको चितवनको भरतपुरमा ०७४ को निर्वाचनमा झिनो मतान्तरसहित रेनु विजयी भएकी थिइन्। सत्ता गठबन्धनभित्र भरतपुरको प्रमुख कुन दलले लिने भन्नेबारे निकै चर्को विवाद भएको थियो। छोरीसमेत रहेकी रेनुलाई नजिताए देश नै दुर्घटनामा जाने प्रचण्डको अभिव्यक्तिपछि यहाँको चुनाव झनै रोचक बनेको थियो। 

निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम मतपरिणाम अनुसार रेनुले ५२ हजार २८ मत पाएकी छिन्। निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ३९ हजार ५ सय ८२ मत प्राप्त गरेका छन्। 

०७४ को निर्वाचनमा एमालेका उम्मेदवार देवी ज्ञवालीसँग २ सय ३ मतान्तरले विजयी भएकी रेनु यसपटक १२ हजार ४ सय ४६ मतान्तरसहित विजयी भएकी हुन्। अघिल्लो निर्वाचनमा भरतपुरमा मतपत्र च्यातिएपछि विवाद भएको थियो। अघिल्लो निर्वाचनमा विवादकाबीच झिनो मतान्तरले विजयी भएकी रेनुलाई यो पटक भने कडा प्रतिस्पर्धा रहेन।

त्यस्तै, ललितपुर महानगरपालिकामा पनि निवर्तमान मेयर चिरिबाबु महर्जन दोहोरिएका छन्। महर्जन पनि फराकिलो मतान्तरसहित विजयी भएका हुन्। 

महर्जनले ४२ हजार ७ सय २२ मत पाउँदा प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५६० मत प्राप्त गरेका छन्। महर्जन र व्यञ्जनकारको मतान्तर १८ हजार १६२ मत प्राप्त गरेका छन्।
अघिल्लो निर्वाचनमा पनि महर्जन र व्यञ्जनकारबीच नै प्रतिस्पर्धा भएको थियो। त्यतिबेला महर्जनले २४ हजार ६४२ मत पाएका थिए भने व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए । 
त्यतिबेला चिरिबाबु ३२६ मतान्तरले विजयी भएका थिए ।

एमाले ‘निल’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अहिलेसम्म कुनै महानगरको प्रमुखमा खाता खोल्न सकेको छैन।

एमालेका नेताहरुले महानगरपालिकामा ‘चमत्कार’ गर्ने अभिव्यक्ति दिएका थिए। २१ वैशाखमा नेपालखबरसँगको अन्तर्वार्ताका क्रममा पनि एमाले महासचिव शंकर पोखरेलले सोही अभिव्यक्ति दिएका थिए। तर, नेताहरुको अभिव्यक्तिभन्दा विपरित नतिजा महानगरमा एमालेले ब्यहोरेको छ।

एमालेले महानगरमा चमत्कार गर्छ : शंकर पोखरेल (अन्तर्वार्ता)

उपप्रमुख पदमा एमालेका उम्मेदवारले केही नयाँ जित निकाले पनि प्रमुखमा भने अग्रता पनि लिन सकेन।

अन्तिम मतपरिणाम आइसकेका ५ वटा महानगरका कुनै पनि प्रमुख पदमा एमाले विजयी हुन सकेको छैन् बाँकी रहेको काठमाडौं महानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तर बनाएका छन्।

०७४ को निर्वाचनमा २ महानगरपालिकाको प्रमुखमा एमालेले जित हात पारेको थियो। एमालेले जितेको पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भइसकेका छन्। काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहित एमाले उम्मेदवार स्थापितलाई पछि पारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad