ad ad

निर्वाचन विशेष


२५ जिल्ला माओवादी खाली, १० जिल्लाले चिनेन एमाले

नेपाली कांग्रेस २ जिल्लामा ‘क्लिन स्वीप’
२५ जिल्ला माओवादी खाली, १० जिल्लाले चिनेन एमाले

फाइल फोटो


केशव सावद
जेठ १०, २०७९ मंगलबार १५:२६, काठमाडौँ

स्थानीय तह निर्वाचनको मतपरिणाम नतिजा अन्तिमतिर पुगेको छ। निर्वाचन आयोगका अनुसार मंगलबार मध्यान्हसम्म ७५३ मध्ये ७४० स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।

जसअनुसार ३२२ स्थानीय तहमा विजयी भएर सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। प्रमुख प्रतिपक्षी नेकपा एमाले २०२ स्थानीय तह जितेर दोस्रो ठूलो दलमा खुम्चिएको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा २९४ स्थानीय तहमा विजयी भएको एमाले देशको पहिलो दल बनेको थियो। गत निर्वाचनमा तेस्रो भएको सत्ता साझेदार नेकपा माओवादी केन्द्र यसपटक पनि १२१ तहमा जित निकालेर तेस्रो नै भएको छ।

अर्को सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल ३० स्थानीय तहमा निर्वाचित भएर आफूलाई चौथो ठूलो दल बनाउन सफल भएको छ। जसपाबाट चोइटिएको समूहले गठन गरेको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल १५ तह जितेर छैटौँ दल बनेको छ।

एमालेबाट विभाजन भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा एकीकृत समाजवादी पार्टी १९ स्थानीय तहमा विजयी भएको छ। स्थानीय तह निर्वाचनमा पहिलो पटक सहभागी भएको एकीकृत समाजवादीको हैसियत पाँचौं दलका रुपमा देखिएको छ।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार पहिलो दल बन्न सफल भएको कांग्रेस २ जिल्लामा भने ‘स्वीप’ भएको छ। कांग्रेस सुदूरपश्चिम प्रदेशको दार्चुला र लुम्बिनी प्रदेशको रुकुम पूर्वमा ‘स्वीप’ भएको हो।

उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूको गृहजिल्ला दार्चुलामा सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रसँग चुनावी तालमेल गर्दा पनि कांग्रेस पराजित हुन पुगेको छ। रुकुम पूर्वमा भने गठबन्धन दलहरूका बीचमा चुनावी तालमेल भएको थिए।

प्रमुख प्रतिपक्षी एमाले १० जिल्लामा निल भएको छ। एमाले प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखा, अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला रुकुम पश्चिममा निल भएको हो।

यस्तै हुम्ला, मुगु, कालिकोट, जुम्ला, बाँके, रुकुम पूर्व, र सर्लाहीमा पनि एमालेले कुनै पनि स्थानीय तहको प्रमुखमा जित हात नपारेको आयोगको तथ्यांकले देखाएको छ।

माओवादी केन्द्र देशका विभिन्न २५ जिल्लामा निल देखिएको छ। पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओलीको गृहजिल्ला झापा र झलनाथ खनालको गृहजिल्ला इलामसँगै २५ जिल्लामा माओवादी केन्द्र निल देखिएको हो।

माओवादी प्रदेश १ का मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा एउटा पनि स्थानीय तह जित्न असफल भएको छ। यस्तै मधेस प्रदेशका महोत्तरी र पर्सासँगै संघीय राजधानी काठमाडौँ, ललितपुर र भक्तपुरमा पनि माओवादी ‘स्वीप’ भएको छ।

माओवादीले रसुवा, लमजुङ, स्याङ्जा, कास्की, मुस्ताङ। म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पूर्व, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, मनाङ र बाजुराका कुनै पनि स्थानीय तहमा विजयी नभएको आयोगले जनाएको छ।

दल गठन भएपछि पहिलो पटक निर्वाचनमार्फत शक्ति परीक्षण गरेको सत्ता साझेदार एकीकृत समाजवादीको ६३ जिल्लामा उपस्थिति देखिएको छैन। उसले १४ जिल्लामा मात्रै निर्वाचन परिणाम आफ्नो पक्षमा पारेर उपस्थिति दर्ज गराएको छ।

एकीकृत समाजवादी उदयपुर, सप्तरी, सिरहा, रौतहट, दोलखा, काभ्रे, धादिङ, मकवानपुर, चितवन, डोल्पा, मुगु, सल्यान बझाङ र कैलालीमा जित दर्ज गराएको छ। कास्कीको पोखरा महानगरपालिकामा पनि एकीकृत समाजवादीले जित्ने निश्चितप्रायः छ।

सत्ता साझेदार जसपाले सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु र बाँकेमा जित निकालेको छ। लोसपाले सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र कपिलवस्तुमा आफूलाई निर्वाचनबाट अनुमोदन गराएको छ।

निर्वाचन अगाडि पार्टीका पक्षमा जनलहर आएको अनुमान गरिएको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तीन जिल्लामा सीमित भएको छ। राप्रपाले यो निर्वाचनमा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला झापाको दमक नगरपालिका र हल्दीबारी गाउँपालिकामा जित निकालेको छ।

यस्तै संघीय राजधानी काठमाडौँको शंखरापुर नगरपालिका र कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका उम्मेदवार नगर प्रमुखमा विजयी भएका छन्। राप्रपाबाट चोइटिएर गएका कमल थापाको अध्यक्ष राप्रपा नेपाल भने देशभर निल भएको छ।

सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनसँगको चुनावी तालमेलबाट तीन जिल्लाका चार स्थानीय तहमा नेतृत्व पाएको छ। २०७४ को स्थानीय तह निर्वाचनमा तीन पालिकाको नेतृत्व लिएको जनमोर्चा यस पटक एक पालिका थप्न सफल भएको छ।

निर्वाचन आयोगका अनुसार जनमोर्चाले बाग्लुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिका, प्युठानको मल्लरानी गाउँपालिका र अर्घाखाँचीको भूमिकास्थान नगरपालिका जितेको हो।

उसले गत निर्वाचनमा जितेको प्युठानको झिमरुक गाउँपालिका गुमाएको छ। यस पटक जनमोर्चाले झिमरुक गुमाए पनि जैमिनी र भूमिकास्थान नगरपालिकाहरू आफ्नो नाममा थपेको छ।    

पृथकतावादी अभियानबाट मूलधारको राजनीतिमा आएका डा. सिके राउतको दल जनमत पार्टीले पहिलो पटक निर्वाचनमा शक्ति परीक्षणको अवसर पाएको छ। यो निर्वाचनमा उसले मधेस प्रदेशको सप्तरीका दुई स्थानीय तहमा नेतृत्वमा कब्जा जमाएको छ।

‘वैकल्पिक शक्ति’का रुपमा चिनिने विवेकशील साझा यो निर्वाचनमा मात्र एक जिल्लाको एक स्थानीय तह जित्न सफल भएको छ। उसले बाराको फेटा गाउँपालिकाको प्रमुखमा निर्वाचन जितेको हो।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भक्तपुरको भक्तपुर नगरपालिकामा जीत हात पारेको छ। तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) महोत्तरीको महोत्तरी गाउँपालिकामा विजयी भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .