स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र महोत्तरीमा शून्य भएको छ।
यसअघिको निर्वाचनमा महोत्तरीका तीन नगरपालिका र एउटा गाउँपालिकाको प्रमुख उपप्रमुखसहित बहुमत वडा जितेको माओवादीले यसपटक कतैपनि प्रमुख उपप्रमुख जित्न सकेन। जिल्लामा माओवादीले जितेका वडाको संख्या पनि घटेको छ।
२०७४ सालको निर्वाचनमा माओवादीले महोत्तरीको बर्दिबास, गौशालाा र रामगोपालपुर नगरपालिका जितेको थियो। त्यसैगरी सम्सी गाउँपालिकामा पनि माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए।
महोत्तरी माओवादी केन्द्रका प्रभावशाली नेता गिरीराजमणि पोखरेलको गृहजिल्ला पनि हो। जिल्लामै एउटा पनि स्थानीय तहमा आफ्ना उम्मेदवार विजयी नहुँनु पोखरेलको लागि लज्जाको विषय बनेको छ।
यसअघि माओवादी केन्द्रले जित हासिल गरेको बर्दिबासको प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। बर्दिबासको प्रमुखमा स्वतन्त्रबाट प्रल्हाद क्षेत्री विजयी हुँदा माओवादी केन्द्रका राजु खड्का दोस्रो भएका छन्।
त्यसैगरी यसअघि जितेको गौशाला नगरपालिका पनि माओवादीले गुमाएको छ। माओवादी केन्द्रबाट मेयरका उम्मेदवार विष्णु लामा गौशालामा जसपाका दीपेन्द्र महतोसँग पराजित भएका छन्।
त्यसैगरी ०७४ मा माओवादीले जितेको रामगोपालपुर नगरपालिकामा यसपटक एमाले विजयी भएको छ। एमालेका रामदुलार साहले माओवादीका अशोक कुमार मण्डललाई पराजित गरेका हुन्।
तयसैगरी यसअघि माओवादीले जितेको सम्सी गाउँपालिकामा यसपटक जसपाका रामनाथ यादव विजयी भएका छन्।
कांग्रेसका उम्मेदवार दोस्रो भएको सम्सीमा माओवादी पाँचौँ स्थानमा पुगेको छ। सम्सीको एटा वडा मात्रै माओवादीले जितेको छ।
बर्दिबासका १४ वडामध्ये चारवटा वडामा मात्रै माओवादीका उम्मेदवार विजयी भएका छन् भने रामगोपालपुरका ९ मध्ये चारवटा वडामा मात्रै माओवादी विजयी भएको छ।
यसअघि प्रमुख उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको गौशालाको एउटा वडामा मात्रै माओवादी विजयी भएको छ।
Shares

प्रतिक्रिया