कपिलवस्तुको शिवराज नगरपालिकामा ३३ वर्षीय युवा अजय थापाले मेयर जितेर धेरैलाई आश्चर्यमा पारेका छन्।
नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरूको दबदबालाई पन्छाउँदै थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा बाजी मारेका हुन्।
उनले एमालेका महादेव पोखरेललाई ४७४ मतान्तरले पराजित गरेर ५ वर्षका लागि शिवराजको बागडोर सम्हाल्ने जिम्मा पाए।
थापा २०७४ सालमा पनि राप्रपाबाट शिवराज नगरपालिकामा मेयरको उम्मेदवार बनेका थिए।
त्यसबेला एमालेका नेत्रराज अधिकारी मेयरमा विजयी भएका थिए। संघीय समाजवादी फोरम दोस्रो स्थानमा थियो। त्यसबेला कांग्रेसका उम्मेदवारलाई पछि पार्दै थापा तेस्रो स्थानमा थिए।
मेयरमा पराजित भएपछि उनी कांग्रेसमा प्रवेश गरे। २०७४ मंसिरमा भएको चुनावमा थापा कपिलबस्तु ३ ‘क’ मा कांग्रेसबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए। तर पराजित भए।
दुई स्थानिय चुनावबीचको अवधि उनी कांग्रेसमै रहे। १४ औँ महाधिवेशनमा उनी प्रतिनिधि पनि भएका थिए।
उनले यो चुनावमा कांग्रेसबाट मेयरको टिकटको अपेक्षा गरेका थिए, तर पाएनन्। मनोनयनको अघिल्लो दिनसम्म कांग्रेसमा आवद्ध उनी टिकट नपाएपछि राप्रपाबाट उम्मेदवार बने। अन्ततः
एमालेका महादेव पोखरेललाई पराजित गर्दै शिवराज नगरपालिकाको मेयरमा विजयी भए। कांग्रेसका उम्मेदवार हुमकान्त खनाल तेस्रो स्थानमा रहे।
कांग्रेसले खर्च गर्न नसक्ने भनेर आफूलाई टिकट नदिएको उनले बताए। तर राप्रपाबाट टिकट लिएर खर्चै नगरी मेयरमा निर्वाचित भएको उनले सुनाए।
थापाले २४ सै घण्टा नगरबासीप्रति समर्पित भएकाले मेयरमा विजयी भएको बताए। ‘करोडौं रुपैयाँ पार्टीलाई बुझाएर टिकट किन्न सक्ने हाम्रो हैसियत थिएन। त्यही कारण पार्टीले मलाई टिकटबाट बञ्चित गर्यो,’ उनले भने ‘नगरबासीले लड्नुपर्छ भन्नुभयो। २–३ करोड खर्च गरेका साथीहरु पराजित हुँदा बिनापैसा चुनाव जितेँ।’
कसैले हजार गोटा झण्डा त कसैले ५ सय वटा पम्ल्पेट छापेर चुनावमा सहयोग गरेको थापाले बताए।
‘युवाहरु जबसम्म अघि सर्दैनन् तब नयाँ सोचको प्रयोग हुँदैन’, उनलेभने, ‘त्यही भएकाले म राजनीतिमा लागेको हुँ।’
एकपटक चुनाव हारेपछि कतिपयले राजनीति छोडेर समाजबाट टाढिन्छन्। तर अजयले यो बीचको ५ वर्ष आफूलाई प्रमाणित गर्न संघर्ष गरे।
समाज र जनतासँग नजिक रहिरहे। ‘हरेक नगरवासीको दुःख सुखमा पुगेँ। सबैको कुरालाई सुन्ने प्रयास गरेँ, त्यसैले सबैले माया गर्नुभयो,’ उनले भने ‘निष्पक्ष बनेर समाजसेवामा समर्पित हुने हो भने नगरबासीले माया गर्ने विश्वास थियो। त्यही विश्वासलाई आत्मसाथ गरेर लागेँ।’
अजय सानैबाट सामाजिक काममा अग्रसरता लिन्थे। विभिन्न क्लब र संघसंस्थामा आवद्ध हुँदा सहयोग गर्थे।
‘कसैलाई दुःख परेका बेला सहयोग गर्दा मलाई आनन्द अनुभूति हुन्थ्यो’, उनले भने, ‘राजनीतिबाट सेवा गर्नुपर्छ भनेर म यता लागेको हो।’
राप्रपाबाट अजयले मेयर जित्दा उनको पार्टीले कुनै वडा जितेको छैन। शिवराजको उपप्रमुख र ३ वटा वडा एमालेले जितेको छ। ३ वटा वडामा कांग्रेस विजयी भएको छ। २ वटा लोकतान्त्रिक
समाजवादी पार्टी र एउटा वटा जनता समाजवादी पार्टीले जितेको छ। थापाले दलगत भन्दा व्यक्तिगत लोकप्रियताको भोट बटुले। नगरबासीले युवालाई रोजेको पनि यसले देखाएको छ।
मेयरमा विजयी भएपछि उनका ठूला सपना छैनन्। ‘शिवराज भ्रष्टाचाररहित हुन्छ। १२ कक्षासम्म अंग्रेजी माध्यमको शिक्षा निशुल्क गराउँछौँ’, उनले भने, ‘उद्योगहरुमा स्थानीय कामदार हुनुपर्ने व्यवस्था गर्छौँ। नागरिकलाई सहज र सुविधा पुग्ने काम थाल्छौँ।’
प्रतिक्रिया